काठमाडाैं- सामाजिक उत्तरदायित्वअन्तर्गत निजी कम्पनीहरूले प्रायः सरसफाइ, रक्तदान, अनुदान वा सहयोग कार्यक्रम सञ्चालन गर्छन्। तर भक्तपुरस्थित नेपाल इको प्यानल ले भने फरक पहिचान बनाएको छ। यो कम्पनीले इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिन कारखाना भ्रमणको अवसर प्रदान गर्दै आएको छ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालका अनुसार कम्पनीलाई अनुसन्धान केन्द्रका रूपमा उपलब्ध गराएर विद्यार्थीहरूलाई पुस्तकमा मात्रै सीमित नराखी वास्तविक निर्माण प्रक्रियासँग परिचित गराउने प्रयास गरिएको छ। कम्पनीका वरिष्ठ इन्जिनियर कृष्णसुन्दर कुम्पाखले पछिल्लो हप्तामात्रै दुई इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले कारखाना अवलोकन भ्रमण गरेको जानकारी दिए।
भ्रमणका क्रममा हिमालयन इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (हिस्ट) का सिभिल इन्जिनियरिङ स्नातक विद्यार्थीहरूले ईपीएस सिमेन्टमा आधारित हल्का स्यान्डविच प्यानल को निर्माण प्रक्रिया, विशेषता, इन्जिनियरिङ गुणहरू र प्रयोगका सम्भावना अध्ययन गरेका थिए।
यस्तै, नेपाल इन्जिनियरिङ कलेज (नेक), दुवाकोटका डिप्लोमा होल्डर स्नातक विद्यार्थीहरूले पनि ईपीएस सिमेन्ट प्यानलको निर्माण विधि, विशेषता र व्यवहारिक पक्षबारे अवलोकन गरेका थिए।
नेपाल इको प्यानलका अनुसार पछिल्लो एक वर्षमा दर्जनौं इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले कारखानाको भ्रमण गरिसकेका छन्। कम्पनीले विद्यार्थीहरूलाई आधुनिक निर्माण प्रविधिसँग प्रत्यक्ष परिचय गराई ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।
नेपाल इको प्यानल स्थायी र अस्थायी संरचनाहरूका लागि भित्री तथा बाहिरी पर्खाल निर्माणमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो। भक्तपुरको चाँगुनारायण नगरपालिका, झौखेल मा रहेको यो कारखाना इन्जिनियरिङ विद्यार्थीहरूका लागि व्यवहारिक प्रयोगशाला सावित हुँदै गएको छ।
प्रतिक्रिया