ऊर्जा मन्त्री र जापानी राजदूत तोरूको भेटवार्ता, ऊर्जा तथा सिँचाइ क्षेत्रमा सहकार्य विस्तारको प्रतिबद्धता

शुक्रबार, ०९ फागुन २०८१, ०८ : १५

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूबीच विशेष भेटवार्ता सम्पन्न भएको छ। बिहीबार ऊर्जा मन्त्रालयमा भएको उक्त बैठकमा दुई देशबीच ऊर्जा तथा सिँचाइ क्षेत्रमा सहयोग विस्तारबारे गहन छलफल भएको छ।

भेटका अवसरमा मन्त्री खड्काले नेपालका लागि नवनियुक्त राजदूत तोरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, जापान सरकारले नेपालका विभिन्न जलविद्युत् तथा सिँचाइ परियोजनामा पुर्‍याएको महत्वपूर्ण सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे।

नेपालका ऊर्जा पूर्वाधारको विकासमा जापानले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै मन्त्री खड्काले कालिगण्डकी ‘ए’, कुलेखानी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजना, ग्रामीण विद्युतीकरणलगायतका परियोजनामा जापानी सरकारको लगानी र प्रविधिगत सहयोगप्रति आभार व्यक्त गरे। त्यस्तै, कोशी, नारायणी, बागमतीजस्ता प्रमुख नदीहरूमा बाढी नियन्त्रण तथा चन्द्रनगर सिँचाइ प्रणाली निर्माणमा जापानले पुर्‍याएको योगदानको पनि स्मरण गरे।

मन्त्री खड्काले जापान सरकारलाई नेपालको जलविद्युत् क्षेत्र, हरित हाइड्रोजन प्रविधि, स्मार्ट ऊर्जा प्रणाली तथा ठूला सिँचाइ आयोजना जस्ता रणनीतिक परियोजनाहरूमा लगानी गर्न आग्रह गरे। साथै, हालै मन्त्रिपरिषद्बाट पारित ऊर्जा विकास मार्गचित्रको कार्यान्वयनमा जापान सरकारको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सहयोगको अपेक्षा व्यक्त गरे।

राजदूत तोरूले नेपालको जलविद्युत् विकासलाई जापान सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै, विश्व बैंकको वित्तीय व्यवस्थापनमा निर्माण हुन लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको ऊर्जा क्षेत्रमा दीर्घकालीन साझेदारी विस्तार गर्ने इच्छा व्यक्त गर्दै आगामी दिनमा थप ठोस सहकार्य हुने विश्वास दिलाए।

ऊर्जा क्षेत्रमा नेपाल र जापानबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको यो भेटवार्ताले भविष्यमा दुई देशबीचको ऊर्जा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

शुक्रबार, ०९ फागुन २०८१, ०८ : १५

प्रतिक्रिया