काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च युरोप समितिमा आर्थिक अनियमितता र निर्वाचित समिति भंग गरिएपछि भाँडभैलो मच्चिएको छ । मञ्चको युरोप समितिका पदाधिकारीहरु आर्थिक अनियमितता संलग्न रहेको आरोप लागेको छ भने अर्कोतिर त्यस अन्तर्गतका देशमा महाधिवेशनबाट निर्वाचित कमिटी समेत भंग गरेपछि असन्तुष्टि चुलिएको हो ।
मञ्चका अन्तर महादेश प्रदेश कमिटी सदस्य राज गौतमले नेपालबाट लगेको सहयोग रकम अपचलन गरेको आरोप लागेको छ । उनले नेपालबाट मञ्चको युरोप समितिका लागि सहयोगार्थ लगिएको पाँच लाख रकममा ४०० युरो खर्च गरी बाँकी रकम हिनामिना गरेको आरोप लागेको हो ।
यस्तै अर्का मञ्चका युरोप समितिका सचिव हरिशचन्द् पोखरेलमाथि पनि नेपालमा मञ्चका लागि लिइएको सहयोग रकम हिनामिना गरेको आरोप छ । सचिव पोखरेल र महादेश प्रदेश कमिटी सदस्य गौतमले नेपालबाट लिइएको रकम आफ्ना ससुरालीतर्फका आफन्तको खातामा राखेको आरोप लागेको हो ।
उक्त रकम पारदर्शी गर्न माग गर्दा पोर्चुगल अध्यक्ष रहेकी सिता ढकाल सुवेदीलाई उल्टै आर्थिक हिनामिनाको आरोप लगाइएको स्रोत बताउँछ । यस सम्बन्धी छानबिनका लागि सबै प्रमाण मञ्चको युरोप समितिलाई बुझाए पनि कुनै छानबिन नगरिएको स्रोतको दाबी छ ।
करिब एकदशकदेखि पोर्चुगल बसेकी सुवेदी त्यहाँको एनआरएनए महिला विभागको संयोजक समेत निर्वाचित भएकी थिइन् । यसअघि छैटौं अधिवेशनबाट निर्वाचित अध्यक्ष दावा लामाले राजीनामा दिएपछि उनले त्यहाँको संयोजकको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।
करिब ८ महिनाको अन्तराल पछि सातौं अधिवेशन सम्पन्न गर्दै पुनः नेतृत्वमा दोहोरिएकी सुवेदी नेतृत्वको समितिलाई मञ्चको युरोप समितिले भंग गरिदिएको हो ।उनै सुवेदी नेतृत्वको मञ्चको पोर्चुगल समितिलाई भंग गर्दै युरोप समितिले विशेष अधिवेशनका लागि नारायण शर्मालाई संयोजक तोकेको छ ।
माओवादी प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च युरोप समितिका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले पोर्चुगलको निर्वाचित अध्यक्ष सुवेदीको कार्यकाल सकिनु अगावै जिम्मेवारीबाट हटाएका हुन् । उनकै कार्यकालमा गैर आवासीय नेपाली संघ(एनआरएनए) पोर्चुगल शाखामा मञ्चले एनआरएनएको नेतृत्व समेत पाएको थियो ।
२०२४ मा सम्पन्न सातौं अधिवेशनबाट जनप्रगतिशिल मञ्च पोर्चुगलको अध्यक्षमा निर्वाचित भएकी उनै सुवेदीलाई मनोमानी ढंगले हटाइएपछि जनप्रगतिशील मञ्च युरोप समिति विवादमा आएको छ ।
प्रतिक्रिया