नबिल बैंकले वाकाथन कार्यक्रम गर्दै मनायो अन्तर्राष्ट्रिय नारी दिवस

शनिबार, २४ फागुन २०८१, १६ : ४०

काठमाडौं- नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वाकाथन कार्यक्रम आयोजना गरेको छ ।

‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले यो वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयबाट वाकाथनको सुरुवात भएको थियो ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नारी दिवसको शुभकामना व्यक्त गर्दै बैंकले महिलाहरुलाई प्राथमिकता दिएको बताए । उनले बैंकका विभिन्न विभागमा महिलाहरुले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले मार्च महिनाभरि नै विभिन्न कार्यक्रममार्फत नारी दिवस मनाउने योजना बनाएको जानकारी दिए । 'महिलाहरु पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ, र त्यसका लागि बैंकले विभिन्न क्षेत्रमा अवसरहरु प्रदान गर्न सधैं तयार छ,' उनले भने ।

बैंकका अनुसार, यो वाकाथन देशका १२ स्थानबाट एकैसाथ सुरु गरिएको थियो । काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, विरगन्ज, पोखरा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा आयोजित वाकाथनमा बैंकका १२ सयभन्दा बढी कर्मचारीहरु सहभागी भएका थिए । यो कार्यक्रमले लैंगिक समानताको सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।

सहभागीहरुले वाकाथनमा पुरुषहरुको सहभागिताले हिँड्नु मात्र नभई समाजमा व्याप्त पुरानो सोच र विभेदको अन्त्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरुको सुरुवात गर्दै नबिल बैंकले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।
 

शनिबार, २४ फागुन २०८१, १६ : ४०

प्रतिक्रिया