काठमाडौं - गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको तयारीलाई अगाडि बढाउँदै, उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ।
उक्त निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेलाई तोकिएको छ भने, सेवानिवृत्त मेजर डमर घले र अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्तका रूपमा समावेश गरिएको छ।
गोपाल कृष्ण घिमिरे नेपालका एक प्रख्यात कानूनी जानकार हुन् र डेमोक्र्याटिक लयर्स एसोसियेशनका पूर्व अध्यक्ष समेत रहेका छन्। मेजर डमर घले, एनआरएनए युकेका पूर्व अध्यक्ष, बेलायतमा लामो समयसम्म बसेका र हाल पोखरामा आफ्नो होटेल व्यवसाय सञ्चालन गर्दै छन्। त्यस्तै, आशिष उप्रेती एक युवा र सक्षम कानूनी व्यवसायी हुन्।
सर्वोच्च अदालतको परमादेश अनुसार, एनआरएनएको एकता महाधिवेशन आगामी २०२५ को मे महिनामा काठमाडौँमा आयोजना गर्न तयारी भइरहेको छ। यस महाधिवेशनको उद्देश्य एनआरएनएलाई एकताबद्ध गरी लोकतान्त्रिक प्रक्रिया र सदस्यहरूको अधिकार सुनिश्चित गर्न हो।
उच्चस्तरीय समितिका अध्यक्ष डा। शेष घलेले यस अवसरमा सबै सदस्यहरूलाई निर्वाचन प्रक्रियामा सहभागी हुन र निस्पक्ष तथा पारदर्शी चुनावको लागि निर्वाचन समिति र समितिलाई सहयोग गर्न आग्रह गरेका छन्।
उच्चस्तरीय समितिले यही ३१ मार्च २०२५ भित्र https://nrnahlc.com/membership-registration/ मा गएर नयाँ सदस्यताको लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ।
प्रतिक्रिया