‘ग्लोबल मनी विक २०२५’ सुरु

मंगलबार, ०५ चैत्र २०८१, १० : ०७

काठमाडौं - 'Think before you follow, wise  money tomorrow' भन्ने नाराका साथ  ‘ग्लोबल मनी विक – २०२५’ आजदेखि आरम्भ  भएको छ । हरेक वर्ष मार्च महिनामा  साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको  यो तेह्रौँ संस्करण हो ।

उक्त अभियानको पहिलो दिन नेपाल  राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल  धितोपत्र बोर्ड र सहकारी विभागसँगको  सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन  कार्यक्रम (National Launch Event) आयोजना गर्‍यो । उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न  विद्यालयका कक्षा ७ देखि ९ सम्म अध्ययनरत  करिब ६०० जना विद्यार्थीको सहभागिता थियो ।  गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरे । 

सो अवसरमा उनले वित्तीय साक्षरताको  महत्त्वमाथि प्रकाश पार्दै आफ्नो आवश्यकताका आधारमा वित्तीय सेवाहरू छनोट गर्नुपर्ने धारणा  राखे । उनले भने, “बैंक तथा वित्तीय  संस्थाका आ–आफ्नै ‘प्रडक्ट’ हुन्छन् । बचत र  कर्जाका फरक–फरक सर्त र ब्याजदर हुन्छन् ।  आफूलाई उपयुक्त हुने प्रडक्ट मात्र छनोट  गर्नुपर्छ ।” पछिल्लो समय डिजिटल वित्तीय  कारोबारको विस्तारसँगै चुनौती समेत थपिएको उल्लेख गर्दै गभर्नर अधिकारीले डिजिटल माध्यमको प्रयोग गर्दा सतर्कता अपनाउन  आह्वान गरे । 

कार्यक्रमको उद्घाटन सत्रमा डेपुटी  गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र  बमबहादुर मिश्रसँगै बैंकका कार्यकारी निर्देशक,  निर्देशक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा  प्राधिकरण, सहकारी विभागका उच्च अधिकारी  र बैंकरहरूको उपस्थिति थियो ।  कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र  बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी  विभाग, बैंकर्स एसोसिएनका अधिकारी र  विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल  भएको थियो । 

सो अवसरमा राष्ट्र बैंकका  कार्यकारी निर्देशक किरण पण्डित, धितोपत्र  बोर्डका कार्यकारी निर्देशक डा. नवराज  अधिकारी, बीमा प्राधिकरणका कार्यकारी निर्देशक  सुशीलदेव सुवेदी, सहकारी विभागका निमित्त  रजिष्ट्रार रघुनाथ महत र नेपाल बैंकर्स  एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आ– आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग  सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी  दिए । उक्त अवसरमा उहाँहरूले विद्यार्थीले  राखेका जिज्ञासाको जवाफसमेत दिएका थिए । नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता  तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक  हिमप्रसाद न्यौपानेले प्यानल छलफलको  सहजीकरण गरे भने गभर्नरको कार्यालयका  कायममुकायम कार्यकारी निर्देशक डा. डिल्लीराम  पोख्रेलले समापन मन्तव्य राखेका थिए । सो  अवसरमा सहभागी विद्यार्थीहरुबीच वित्तीय  साक्षरतासम्बन्धी हाजिरीजवाफ प्रतियोगितासमेत  आयोजना गरिएको थियो ।  

चैत १० गतेसम्म सञ्चालन हुने यस  अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा  मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग  पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू  सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण,  नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल  बैंकिङ इन्स्टिच्युट लिमिटेडबाट अलगअलग  रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय  संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स  कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित  कार्यक्रमहरू सञ्चालन गर्नेछन् । 

यस अभियानअन्तर्गत बैंकिङ-वित्तीय, पुँजी  बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना  अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय  गरिएका छन् । जसअन्तर्गत वित्तीय सचेतनामूलक  अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक  प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार  माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक  कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरू  प्रसारण गरिनेछन् । यसै गरी, विद्यार्थीलाई  वित्तीय सेवा प्रदायक संस्थाका अवलोकन गराउने  कार्यक्रमसमेत तय गरिएको छ ।

उक्त  अभियानबाट विद्यार्थीहरूमा वित्तीय साक्षरताको  प्रवर्द्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका  आधारभूत पक्षबारे सचेतना अभिवृद्धिमा सहयोग  पुग्ने अपेक्षा राखिएको छ । ‘ग्लोबल मनी विक’  मूलतः किशोर-किशोरी तथा युवा-युवतीमा  वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने  उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको  अभियान हो । Organization for Economic  Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष  विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै  आएको छ । 

राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै  आइएको छ । यस अभियानबाट हालसम्म  विश्वका १७६ भन्दा बढी मुलकका करिब छ  करोड बालबालिका, किशोरकिशोरी र युवाहरू  लाभान्वित भएको OECD ले जनाएको छ ।  ग्लोबल मनी विकको स्थायी नारा  Learn.Save.Earn. रहेको छ । 
 

मंगलबार, ०५ चैत्र २०८१, १० : ०७

प्रतिक्रिया