काठमाडौं - फिनल्यान्डले आठौँ पटक पनि विश्वको सबैभन्दा खुसी देशको रूपमा स्थान बनाएको छ। ७ दशमलव ७३६ अंकसहित १४७ देशहरूको सूचीमा फिनल्यान्ड एक पटक फेरि शीर्ष स्थानमा रहन सफल भएको हो।
यस वर्षको वर्ल्ड ह्याप्पिनेस रिपोर्ट अनुसार नेपाल ५ दशमलव ३११ अंकसहित ९२ औं स्थानमा रहेको छ, जबकि गत वर्षको रिपोर्टमा नेपाल ९३ औं स्थानमा थियो।
नेपालको खुसीको स्तर यस वर्षको सूचिमा बढेको देखिन्छ, जसले सकारात्मक संकेत दिइरहेको छ। भारत १२६ औं स्थानमा र पाकिस्तान १०९ औं स्थानमा रहेको छ। रिपोर्टमा उल्लेख छ कि, खुसी केवल आर्थिक वृद्धिले मात्र निर्धारण गर्दैन, मानिसहरूको सामाजिक सम्बन्ध र आपसी विश्वास पनि यसमा महत्वपूर्ण भूमिका खेल्दछन्।
अक्सफोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरद्वारा प्रकाशित रिपोर्टमा, नोर्डिक देशहरू—फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड र स्विडेन—पछिल्लो आठ वर्षदेखि खुसीको सूचीमा शीर्ष स्थानमा रहेका छन्।
वर्ष २०२५ को रिपोर्टमा अमेरिका २४ औं स्थानमा पुगेको छ, जुन अहिलेसम्मको सबैभन्दा न्यून स्थान हो। २०१२ मा यो ११ औं स्थानमा थियो। रिपोर्ट अनुसार, अमेरिकामा एक्लै खाना खानेको संख्या विगत दुई दशकमा ५३ प्रतिशतले वृद्धि भएको छ।
अफगानिस्तान भने सूचीको सबैभन्दा पुछारमा रहेको देशको रूपमा चिनिन्छ, जसलाई संसारको सबैभन्दा दुखी देशको रूपमा मानिएको छ। सियरालियोन र लेबनान क्रमशः दोस्रो र तेस्रो सबैभन्दा दुखी देशको रूपमा सूचीबद्ध छन्। एजेन्सी
प्रतिक्रिया