अमेरिकामा नेपालबाट गएका ६ जना भुटानी शरणार्थी पक्राउ, देश निकालाको तयारी

शुक्रबार, ०८ चैत्र २०८१, ०९ : ५१

काठमाडौं- अमेरिकामा ६ जना भुटानी शरणार्थी पक्राउ परेका छन् । अध्यागमन कानुन उल्लघंनको अभियोगमा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट आइसले पेन्सिलभेनियाबाट उनीहरूलाई पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । 

पक्राउ पश्चात् उनीहरूलाई अध्यागमन हिरासतमा राखिएको र देश निकालाको तयारी गरिएको छ । पक्राउ पर्नेहरू पुनर्वास कार्यक्रम अन्तर्गत केही वर्षअघि नेपालबाट अमेरिका गएका भुटानी शरणार्थीहरू हुन् । 

सामान्यतया अमेरिकाले देश निकाला गरेकाहरूलाई उनीहरूको मूल देश फर्काउने गरेको छ ।यसअघि जोखिमको बाबजुद पनि इराकी शरणार्थीहरूलाई इराक फिर्ता पठाइएको थियो । तर, भुटानले यसअघि नै फिर्ता पठाइएकालाईआफ्ना नागरिकका रूपमा अस्वीकार गरेको र नेपालले शरण दिएको सन्दर्भमा उनीहरूलाई कहाँ फर्काउने भन्ने विषय जटिल बनेको छ । 

यद्यपि, नेपालबाट गएका भएता पनि अमेरिकाले उनीहरूलाई भुटानी नागरिकका रूपमा नै वर्गीकरण गर्ने गरेको छ । यस्तो अवस्थामा अमेरिकाले उनीहरूलाई भुटान नै पठाउन सक्ने बताइएको छ । तर उनीहरूलाई भुटानले ग्रहण गर्ने/नगर्ने यकिन छैन । ग्रहण नगरेको खण्डमा समेत कुन हैसियतमा राख्छ भन्ने विषय अहिले निकै पेचिलो बनेको छ। 

अमेरिकाले उनीहरूलाई तेस्रो देशमा पठाउन पनि सक्छ । तर, तेस्रो देश पठाएर कैद भुक्तान गराइसकेपछि पनि तेस्रो देशले उनीहरूलाई फेरि कहाँ पठाउने भन्ने विषय थप अन्योलपूर्ण बनेको छ ।

शुक्रबार, ०८ चैत्र २०८१, ०९ : ५१

प्रतिक्रिया