समाचार टिप्पणी

ट्रम्पको दक्षिणपन्थी यात्रा र लोकतन्त्रको भविष्य

शुक्रबार, ०८ चैत्र २०८१, १४ : ३०

काठमाडौं - सबै मुलुकहरु कुनै न कुनै रुपमा विश्व व्यवस्था प्रणालीभित्र बाँधिएका हुन्छन् । विश्व प्रणालीलाई नियन्त्रण गर्ने ‘कोर’ (शक्ति राष्ट्र) मुलुकमा आएको राजनीतिक तथा आर्थिक परिवर्तनको असर पेरिफेरल वा कमजोर मुलुकहरुमा स्वभाविक रुपमा पर्ने गर्दछ । आज नेपाल लगायतका मुलुकहरुमा शक्ति राष्ट्रहरुमा आएको परिर्वतनको हावा चल्न थालेको छ । खासगरी अमेरिकामा  डोनाल्ड ट्रम्प सत्तामा आएपछि विश्व व्यवस्थालाई नै प्रभावित पार्ने खालका गतिविधहरु हुन थालेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प परम्परागत अमेरिकी विदेश नीतिलाई उल्ट्याउन इच्छुक छन् भन्ने कुरामा अब कुनै शंका रहेन । पदभार ग्रहण गरेको दुई महिनाभन्दा कम समयमा ट्रम्पले युरोपसँग अमेरिकाको सम्बन्धलाई तोडेका छन् । नेटोप्रति वासिंटनको प्रतिबद्धतामाथि बारम्बार प्रश्न उठाएका छन् । रुसी आक्रामणका लागि युक्रेनलाई दोष थोपारेका छन् र किभलाई सैन्य सहायता रोकेका छन् । त्यस्तै, उनले प्रमुख संयुक्त राष्ट्रसंघीय संस्थाहरूबाट अमेरिकालाई अलग गराएका छन् । विश्वव्यापी भन्सार युद्ध सुरु गरेका छन् । अमेरिकी सहायता र मानवीय सहायताको विश्वव्यापी वितरणमा अवरोध पुर्‍याएका छन् । त्यति मात्र होइन, ट्रम्पले क्यानडा, पानामा, ग्रिनल्यान्ड र गाजालाई नियन्त्रण लिने धम्की दिएर अमेरिकाले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाको मुल सिद्धान्तलाई तोड्न सक्छ भन्ने संकेतसमेत दिएका छन् ।

ट्रम्पका यी क्रियाकलापहरु लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र दक्षिणपन्थ हुँदै तानाशाही राजमार्गमा कुद्ने संकेतका रुपमा बुझ्न सकिन्छ । कुनै पनि तानाशाहले सबैभन्दा पहिले संस्थाहरुमाथि प्रहार गर्दछ । संस्थाहरु भनेका लोकतन्त्रका सुन्दर संरचना हुन । तिनै संस्थाका माध्यमबाट मानिसहरले लोकतान्त्रिक राज्यको सेवा सुविधा प्राप्त गर्ने गर्दछन् । यस्ता संस्थाहरु रहेनन् भने शासकमा शक्तिको केन्द्रिकरण हुन्छ । ट्रम्प यही गरिरहेका छन् । उनको शक्ति बढ्दै जाँदा दक्षिणपन्थीहरुको मनोबल पनि बढ्दै गएको छ ।  विश्वको प्रमुख आर्थिक, सैन्य र प्राविधिक शक्तिको रूपमा अमेरिकासँग निश्चित रूपमा कमजोर शक्तिहरू वा उसको  सुरक्षा सुनिश्चितता र बजार पहुँचमा निर्भर अन्य प्रतिस्पर्धीको लागतमा आफ्नो हित पछ्याउने विकल्प छ । कमजोर शक्तिले एकातिर अमेरिकाको राष्ट्रिय सुरक्षा हितलाई राम्रोसँग सेवा गर्छ भने अर्कोतर्फ अन्य प्रमुख शक्तिसँगको आफ्नो सम्बन्धलाई पुनः विचारको निर्णय पनि गर्न सक्छ ।


आज ट्रम्पका नीतिहरूको अनौठो प्रकृति भूराजनीतिक विश्लेषण र विश्व व्यवस्थामाथिको प्रतिस्पर्धाको लेन्सबाट बुझ्न कठिन भैरहेको छ । उनी विशुद्ध व्यापारिक दृष्टिकोणले प्रस्तुत भैरहेका छन् । उनी आफ्ना छिमेकीहरुलाई पनि व्यापारिक स्वार्थले धम्कि दिइरहेका छन् । उनी अमेरिकाको आर्थिक साम्राज्य विस्तार गर्न उद्दत देखिन्छन् । आफ्नो राष्ट्रिय स्वार्थको लागि अर्को मुलुकको सार्वभौमिकतामाथि उनले धावा बोलिरहेका छन् । योजनाबद्ध होस् वा अन्जानमै, ट्रम्पका अहिलेसम्मका नीतिले स्वदेश र विदेशमा लोकतान्त्रिक अभ्यासलाई नकारात्मक रूपमा प्रभावित पारेको देखिन्छ 

आजसम्म अमेरिकाले ओढेको लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताको खोल ट्रम्पको प्रशासनले उघारीदिने स्पष्ट संकेत देखिएको छ । उनले अमेरिकी राजनीतिक प्रणालीका तत्वलाई निरंकुश बनाउँदै जाँदा, उनको विदेश नीतिले पनि बढ्दो रुपमा निरंकुश शासनलाई समर्थन गरेको देखिन्छ । जान अनजानमै, उनका अहिलेसम्मका नीतिले प्रायः स्वदेश र विदेशमा लोकतान्त्रिक सीमाको प्रतिरोध गर्ने सेवामा छन्, जसले शक्तिशाली शासनका लागि लोकतान्त्रिक त्रुटिमाथि उनको स्वघोषित प्राथमिकतालाई प्रतिबिम्बित गर्छ । 
निश्चित रुपमा निरंकुश शासनको अस्तित्वका लागि मुख्य बाधक लोकतन्त्रीकरण हो । निरंकुश शासक राजनीतिक स्वतन्त्रतालाई व्यवस्थित रूपमा प्रतिबन्धित गरेर, न्यायपालिकालाई अधीनमा राखेर, सञचार माध्यमको स्वतन्त्रतालाई कटौती गरेर, नागरिक समाजमाथि प्रतिबन्ध लगाएर र लोकतान्त्रीकरणका लागि सामाजिक मागलाई दबाएर लोकतन्त्रको विरुद्ध उत्रन्छन् । त्यसैगरी, लोकतान्त्रिक पतन मूलतः निरंकुशताको प्रक्रिया हो । संस्थागत नियन्त्रण र सन्तुलनको क्षय, न्यायपालिकामा राजनीतीकरण, मिडिया स्वतन्त्रताको पतन र विशेष स्वार्थद्वारा सार्वजनिक संस्था कब्जा गर्नु सबै चुनौती हुन् । लोकतन्त्र र निरंकुशताबिचको शासन प्रतिस्पर्धाको एक प्रमुख विशेषता यसको शून्य–योग प्रकृति हो, कुनै पनि लोकतान्त्रिक लाभ निरंकुश शासनको मूल्य चुकाएर आउँछ भने कुनै पनि निरंकुश शासन लोकतान्त्रिक मूल्य–मान्यता गुमाउँदा आउँछ ।

निरंकुश देशले उदार लोकतन्त्रलाई सधैँ आफ्नो अस्तित्वका लागि खतराको रूपमा हेर्ने गर्छ । जब कुनै देश लोकतन्त्रमा रूपान्तरण हुन्छ, तब यसलाई लोकतान्त्रिक राज्यले लगभग यान्त्रिक रूपमा स्वीकार गर्छ । यो लोकतान्त्रिक शासन प्रणालीमा समानता भएका उच्च विशिष्ट मूल्यबाट उत्पन्न हुन्छ, जस्तै– आवधिक रूपमा निर्वाचित सरकार, कानुनी शासनको सम्मान, समाजको खुला चरित्र र एक–अर्कासँग युद्धमा नजाने तिनीहरूको प्रमाणित प्रवृत्ति राजनीतिक विज्ञानमा लोकतान्त्रिक शान्ति सिद्धान्त भनेर चिनिने घटनाक्रम हुन् । यो एकता प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय प्रणालीमा एक विशिष्ट फाइदा हो । र, निरंकुशतामा घरेलु राजनीतिक विरोधका लागि स्थायी आकर्षण हो ।

ट्रम्प प्रशासनको विदेशनीति अधिनायकवादी बन्दै गएको छ । यसले अमेरिकी लोकतन्त्रको इतिहासलाई नै कलंकति कतिपय मानिसहरुले आशंकाहरु गरिरहेका छन् । लोकतन्त्रले निरंकुशतालाई कमजोर पार्नुपर्ने हो ।   लोकतान्त्रिक देश शासन प्रतिस्पर्धाको तर्कभित्र काम गर्छन् भन्ने तथ्यको अर्थ यो होइन कि तिनीहरूको विदेश नीति निरंकुशताभन्दा बढी सिद्धान्तवादी छ वा लोकतान्त्रिक मान्यता अझ बढी सम्मानजनक छन् । वास्तवमा प्रतिस्पर्धाको दबाबले केही लोकतान्त्रिक देशलाई लोकतान्त्रिक मूल्यसँग तिनीहरूको पंक्तिबद्धतालाई ध्यान नदिई शक्तिलाई सुदृढ गर्ने नीति अपनाउन प्रेरित गर्न सक्छ ।

आज ट्रम्पले लिएको आक्रामक र अधिनायकवादी नीतिकै कारण लोकतान्त्रिक प्रणालीहरु धर्मराएका छन् । नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ । मानिसहरु गद्दीच्युत भएका राजाको शासनको समर्थनमा सडकमा आउन थालेका छन् । समाज विकासको नियमले समाज जहिले पनि अग्रगमनतर्फ जाने व्याख्या गरे पनि नेपालमा प्रतिगामी शक्तिहरु बलियो भए जस्तो देखिएको छ । यी सबै कारणहरुमध्ये प्रमुख कारण ट्रम्पका नीतिहरु नै हुन भन्न सकिन्छ । 

शुक्रबार, ०८ चैत्र २०८१, १४ : ३०

प्रतिक्रिया