घाम, छाला र सनस्क्रिन

विहीबार, १४ चैत्र २०८१, ११ : १२

काठमाडौं - सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए पनि, त्यसबाट निस्किने पराबैजनी (UV) किरण हाम्रो छालाका लागि हानिकारक हुन सक्छ। छालालाई सूर्यको प्रतिकूल प्रभावबाट जोगाउन सनस्क्रिनको प्रयोग अनिवार्य रहेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्।

आरोग्य स्वास्थ्य सदन, जाउलाखेलका छाला तथा यौन रोग विशेषज्ञ सह प्रा.डा. मधु ज्ञवालीका अनुसार, घामको किरणले छालामा रातोपन, पोल्ने, डढ्ने, घमौरा आउने, चिलाउने, कालो दाग-धब्बा देखिने, असामयिक बुढ्यौलीको संकेत देखापर्ने र यहाँसम्म कि छालाको क्यान्सरको खतरा समेत हुनसक्छ।

घामबाट बढी प्रभावित हुनेहरू
विशेषज्ञहरूका अनुसार निम्न समूहका व्यक्तिहरू घामबाट विशेष सावधानी अपनाउनु आवश्यक छ:
– घामको एलर्जी हुने व्यक्ति
– छालाको बाथ वा अन्य संवेदनशील समस्या भएका व्यक्ति
– छालामा कालो दाग, चाया-पोतो हुनेहरू
– सेतो दुवी (Vitiligo) रोग भएका व्यक्ति
– घाममा काम गर्नुपर्ने किसान, मजदुर, खेलाडी आदि
– छालाको स्वास्थ्यप्रति सचेत व्यक्तिहरू

घामबाट जोगिने उपायहरू
विशेषज्ञ ज्ञवालीका अनुसार, सूर्यका हानिकारक किरणबाट बच्नका लागि निम्न उपायहरू अवलम्बन गर्नुपर्छ:
– मध्यदिनको घाममा बाहिर ननिस्कने
– लामो बाहुला भएको लुगा लगाउने
– सनग्लास र टोपी/छाता प्रयोग गर्ने
– सनस्क्रिन अनिवार्य रूपमा प्रयोग गर्ने

सनस्क्रिनको सही प्रयोग कसरी गर्ने?
– कम्तीमा SPF-30 को Water-resistant सनस्क्रिन प्रयोग गर्ने।
– UV-A र UV-B दुवैबाट जोगाउने Broad Spectrum सनस्क्रिन छान्ने।
– चिल्लो छालाका लागि Water-based, सुख्खा छालाका लागि Cream-based सनस्क्रिन लगाउने।
– घाममा निस्किनुअघि १५-२० मिनेट अघि लगाउने।
– अनुहार, कान, घाँटी, ओठ, पाखुरा जस्ता भागमा समेत लगाउने।
– बादल लागेको दिनमा पनि सनस्क्रिन प्रयोग गर्ने।
– पौडी खेल्दा, ट्रेकिङ गर्दा वा घाममा धेरै समय बिताउँदा हरेक २ घण्टामा सनस्क्रिन दोहोर्याउने।

विशेषज्ञ ज्ञवालीका अनुसार, मोबाइल, कम्प्युटर तथा LED बत्तीबाट निस्किने कृत्रिम प्रकाशले पनि छालालाई असर पुर्याउन सक्छ, त्यसैले नियमित रूपमा सनस्क्रिन प्रयोग गर्न आवश्यक छ।

“सनस्क्रिन हाम्रो छालालाई जोगाउन महत्वपूर्ण भए पनि, घामबाट बच्ने अन्य उपायहरूसँगै यसको प्रयोग गर्दा मात्र पूर्ण सुरक्षा मिल्छ,”  । 


 

विहीबार, १४ चैत्र २०८१, ११ : १२

प्रतिक्रिया