काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै शिक्षकको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको हो । माओवादी केन्द्रले आम जनसमुदायलाई समेत शिक्षकहरूको आन्दोलनको पक्षमा उभिन आह्वान गरेको छ ।
कांग्रेस–एमाले गठबन्धन सरकारले हजारौं शिक्षकको पेशा र लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको पनि माओवादी केन्द्रको आरोप छ । ‘नेपाल शिक्षक महासंघसँग ५ बुँदे र ६ बुँदे सहमति भएको स्मरणीय छ । उक्त सहमति अनुरूप तर्जुमा भएको विधेयकलाई महत्व दिएर यथाशीघ्र पारित गर्नुपर्नेमा कांग्रेस र एमालेको गठबन्धन सरकारले हजारौं शिक्षक र लाखौं विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलवाड गर्नु निन्दनीय छ,’– विज्ञप्तिमा भनिएको छ ।
रकार गठन भएको दश महिनासम्म आन्दोलनरत शिक्षकहरूको जायज मागलाई बेवास्ता गरिनु, तर यही बिचमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू भने निसंकोच अध्यादेशमार्फत जारी गर्न सक्ने सरकारले शिक्षकहरूको मागप्रति सरकार उदासीन रहेको आरोप लगाएको छ ।
संविधानतः आम नागरिकले शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित भए पनि आवश्यक कानुनी र नीतिगत संरचना निर्माण नहुँदासम्म सङ्घीयताको मर्म अनुरूप शैक्षिक क्षेत्रको पुनर्संरचना हुन नसक्ने उल्लेख छ । निजामती, शिक्षा, स्वास्थ्य, प्रहरीलगायतका ऐनहरू जारी भई कार्यान्वयन हुनुपर्नेमा माओवादीले जोड दिएको छ ।
साथै यसलाई सर्वाधिक महत्त्व दिएर माओवादी नेतृत्वको सरकारले कैयन जटिलताबिच विद्यालय शिक्षा विधेयक तर्जुमा गरी व्यवस्थापिका संसदमा दर्ता गरेको स्मरण गराएको छ ।
तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार र नेपाल शिक्षक महासंघबिच २०८० असोज ५ गते र १२ गते सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न जोडदार माग गरेको छ । यस विषयलाई प्राथमिकतामा राखी विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन पनि सरकार सहित सम्बद्ध सबै पक्षसँग माओवादीले अपिल गरेको छ ।

प्रतिक्रिया