काठमाडौं– ललितपुर जिल्लाको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतको आर्किटेक्चर विभागमा तीन वटा जीर्ण भवनहरू छन् । ती भवनहरू आनन्द गुफा, पुतली घर र सेतो घर हुन् । यी तीन भवनहरू कुपन्डोलदेखि पुल्चोक जाने बाटोबाट प्रस्ट देखिन्छ । हिउँदको समय हुनाले यी भवनहरू खण्डहर जस्तो देखिएका छन् ।
यी भवनहरूको इतिहास हेर्ने हो भने आईओई परिसरकै एउटा राणाकालीन भवनसँग जोडिएको छ । गेटबाट सिधा अगाडि डीनको कार्यालय नै राणाकालीन भवन हो । जसलाई आनन्द निकेतन अर्थात् आनन्द भवनको नामले चिनिन्छ । आईओईअन्तर्गको आनन्द भवन र आर्किटेक्चर विभागअन्तर्गतका ती तीन वटै भवनहरू १०० वर्ष नाघिसकेका सम्पदाहरू हुन् । संरक्षणको अभावमा यी भवनहरू निकै जीर्ण देखिन्छन् ।
वि.सं १९४९ सालमा राणा प्रधानमन्त्री वीर शमशेरले छोरा आनन्द शमशेरका लागि आनन्द भवन बनाएको र अगाडिका तीन वटा संरचनाहरू भने के कारणले बनाएको भन्नेबारे पत्ता लागेको छैन । युरोपबाट अध्ययन गरेर आएका कुमार नरसिंह र किशोर नरसिंह दाजुभाइले केशर महल, हरिहर भवन, श्री महल जस्ता युरोपेली नव शास्त्रीय शैलीका भवन डिजाइन गरेको इतिहास छ ।
ती भवनमध्येको एक हो पुतली घर । यसलाई ‘विन्टर पभेलियन’ भनेर पनि चिन्ने गरिन्छ । यो भूकम्पपछि प्रयोग विहीन भएको छ । भुईँमा पनि काठ छापिएको छ भने माथि पनि काठमा नै विभिन्न बुट्टा भरेर तला छोपिएको छ । अहिले भुईँमा भएको काठहरू भाँचिएर भित्र पस्नै डरलाग्दो भएको छ ।
पुतली घरको अगाडि छ, सेतो घर । यसलाई ‘समर पभेलियन’ का नामले चिनिन्छ । सेतो घर अहिले पनि आंशिक रूपमा उपयोग पनि भइरहेको छ । त्यहाँ समयसमयमा आर्किटेक्चरका विद्यार्थीले ‘ड्रइङ’ गर्ने गरेका छन् ।
सेतो घरको नजिकै एउटा पुरानो गेट छ, सँगै अग्लो भूभाग छ जसमाथि सिसीहरू राखिएको छ । बाहिरबाट हेर्दा माटोको थुप्रो मात्र देखिन्छ भने त्यो माटोमुनि गुफा रहेको छ । गुफा भित्र बाहिर दुवैतिर इँटाले बनाइएको छ जसमा एउटा ढोकाबाट पसेर अर्कोबाट निस्कन मिल्ने बाटो छ । गुम्बज शैलीमा निर्माण गरिएको गुफाभित्र निकै साँघुरो बाटो छ भने भित्र एकदमै अँध्यारो छ । भित्र चार वटा साना साना कोठाजस्तो देखिन्छ र माथि पट्टी हावा आउने एउटा प्वाल बनाइएको छ ।
‘२०६७ सालमा आईओईले यी भवनहरूबारे अध्ययन गरेको थियो अध्ययनले समयमै संरक्षण नहुँदा भग्नावशेषको रूपमा परिणत भएको निष्कर्ष निकालेको थियो । अहिले सेतो घर र आनन्द गुफा मर्मत मात्र गरे पुग्ने अवस्थामा छ, पुतली घर भने पुनर्निर्माण नै गर्नुपर्ने स्थितिमा छ,’ आईओई पुल्चोक क्याम्पस प्रमुख प्रा.डा. सञ्जय उप्रेतीले भने ।
बाहिरबाट झट्ट हेर्नेहरूले इन्जिनियरिङ अध्ययन संस्थानले यसलाई के कामको लागि राखिरहेको छ जस्तो सोच्ने गदले यसलाई के कामको लागि राखिरहेको छ जस्तो सोच्ने गर्दछन् । यति पुरानो भवन किन नभत्काएको भन्ने समेत आवतजावत गर्नेहरू सोच्ने गर्दछन् । विगत २५ वर्षदेखि भने आईओईले यसको पुर्ननिमार्णका लागि पहल गर्दै आए पनि विभिन्न कारणले काम अगाडि बढाउन सकेको थिएन ।
आईओईको आर्किटेक्चर विभागमा ३० वर्षभन्दा अघिदेखि काम गर्दै आएका एक कर्मचारी यी भवन राणाकालीन समयमा बनेको र नेपाल सरकारले आईओईलाई हस्तान्तरण गरेपछि हाल आईओई हाताभित्रै पर्न आएको बताउँछन् । उनका अनुसार एक २०५६ सालमा आईओईले भत्काउनका लागि ठेक्काको काम सुरु गरिसकेको भए पनि पुरातत्त्व विभागले रोकिदिएको थियो र हाल सरसफाइलगायतको काम आर्किटेक्चर विभागले हेर्दै आएको उनले जानकारी दिए । केही समय अघिसम्म आर्किटेक्चर विभाग प्रमुख रहेका उप्रेतीले आफूले शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निमार्ण विभागसँग पनि छलफल गरेको बताए ।
लामो समयदेखि जीर्ण बनेर बसेका संरचनालाई हाल भने ललितपुर महानगरपालिकाले पुर्ननिमार्णका लागि पहल थालिसकेको छ । आईओई पुल्चोक क्याम्पस प्रमुख प्रा.डा.सञ्जय उप्रेती भन्छन्, ‘आईओई नै सरकारी सम्पत्ति हो, ललितपुर महानगरपालिका नै यसको सरकार भएकोले यसको संरक्षणको जिम्मेवारी महानगरको पनि हुन्छ । जीर्णोद्धार कार्य अघि बढाउन ललितपुर महानगर, क्याम्पस प्रशासन र अन्य सरोकारवालाहरूबिच छलफल भएपछि हाल यसको पुर्ननिमार्णको काम अघि बढिसकेको छ ।’
‘बाहिरबाट हेर्दा यी तीन वटा भवन मात्र जीर्ण देखिए पनि आनन्द भवन जसमा अहिले डीनको कार्यालय छ त्यसलाई पनि पुर्ननिमार्ण गर्न आवश्यक रहेको छ ।,’ प्रा.डा.उप्रेतीले भने, ‘हाल स्रोतको अभाव हुँदा हामीले आफ्नो आफ्नो विभागबाट सरसफाइ तथा संरक्षण गर्दै आएका छौँ । तर अहिले नगरपालिकाले पुतली घर र सेतो घरको पुर्ननिमार्णको काम थालेसँगै आनन्द भवन पनि केही समयमा ध्यानमा जाने र पुर्ननिमार्ण हुने आशा थपिएको छ ।’
ललितपुर महानगरपालिकाबाट पुर्ननिमार्णका लागि पहल थालिएसँगै प्रारम्भिक अनुसन्धानका लागि थ्रिडी आर्किटेक्चरलाई जिम्मा दिएको छ । हाल पुतली घर र सेतो घरको अनुसन्धानको काम सकेर आफूले बनाएको प्रारम्भिक योजना नगरपालिका सामु प्रस्तुत गर्ने क्रममा रहेको थ्रिडी आर्किटेक्चरका सञ्चालकमध्येका एक सन्दीप पुरीले बताए ।
पुरातत्त्व विभागले भत्काउन नदिएको विषयमा भने प्रा.डा. उप्रेतीले सोही स्वरूपमा पुनर्निर्माण गर्नका लागि अनुमति पाउने र यो सम्बन्धी सम्पूर्ण काम महानगरको पहलमा नै भइरहेको बताए । उनले यसअघि सम्पदा जोगाउनका लागि महानगरले नै आईओईको हातामा ढुंगाको गारो लगाइदिएको जानकारी दिए । उनले महानगरले गरेको काममा आईओईले सहकार्य गर्ने बताए ।
प्रतिक्रिया