काठमाडौं- दलित समुदायका अगुवाहरुले ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग गर्दै माइतिघर मण्डलामा आज धर्ना दिएका छन् ।
नेपाल पिछडावर्ग (ओबिसी) महासंघको नेतृत्वमा दलित समुदायका अगुवाहरुले ‘पिछडिएको समुदाय (ओबिसी) उत्थान विकास समिति’ र ‘वादी समुदाय उत्थान विकास समिति’लाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।
महासंघका अध्यक्ष गजेन्द्र ठाकुरले तीन वटै विकास समितिमा रिक्त रहेको पदमा जतिसक्दो चाँडो पदाधिकारी नियुक्ति गर्नुपर्नेमा जोड दिए । तीनवटै विकास समितिमा लामो समयदेखि कार्यरत अवकासित कर्मचारीलाई पुनःनियुक्ति गर्नुपर्ने उनको भनाइ छ ।
महासंघले राष्ट्रिय समावेशी आयोगले पिछडा वर्गको थर सूचीकरणको लागि गरिएको सिफारिस मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र (ओबिसी) आरक्षण लागू गर्नुपर्ने, सरकार र नेपाल पिछडावर्ग (ओबिसी) महासंघ, दलित सङ्घ तथा वादी समुदायबीच भएको सम्झौता लागू गर्न सरकारसँग अनुरोध गरेको छ ।-रासस
प्रतिक्रिया