काठमाडौं- धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाइन्ट डिउटीले शङ्का लागि चेकजाँच गर्न खोज्दा भागेको थियो ।
को २ प १७३४ नम्बरको कार भागेपछि पिछा गर्दैगर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरीले जनाएको छ ।
दुर्घटनापछि चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिइएको कारबाट १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको उनले बताए ।
प्रतिक्रिया