वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्दो, अग्रस्थानमा ग्लोबल आइएमई बैंक

शुक्रबार, १९ बैशाख २०८२, १३ : ५८

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूका लागि गैरबैंकिङ सम्पत्ति दिन प्रतिदिन चुनौती बन्दै गएको छ। समयमै असुल हुन नसकेको कर्जाको धितो लिलामीमार्फत बिक्री नभएपछि बैंकहरूले उक्त सम्पत्ति आफैँ सकार्न बाध्य हुन्छन्। यही कारण गैरबैंकिङ सम्पत्ति निरन्तर बढ्दै जाँदा बैंकहरू थप दबाबमा परेका छन्।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २०८१ फागुन मसान्तसम्मको अवधिमा हाल संचालनमा रहेका वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ८०.०३ प्रतिशतले बढेको छ । बैंकहरूले नउठेको कर्जाको धितो लिलाम बिक्री हुन नसकेपछि आफैंले स्वीकृत गरेर राख्ने सम्पत्तिलाई गैरबैंकिङ सम्पत्ति मानिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३६ अर्ब २० करोड ६७ लाख रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६ अर्ब ९ करोड ५६ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति २० अर्ब ११ करोड ११ लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको फागुनसम्म विकास बैंकहरुको गैरबैंकिङ सम्पत्ति ३७.५६ प्रतिशत र फाइनान्स कम्पनीहरूको ७९.२० प्रतिशतले बढेको छ । 

गैरबैंकिङ सम्पत्ति धेरै हुने वाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको गैरबैंकिङ सम्पत्ति १४५ प्रतिशतले बढेर ५ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त सम्पत्ति २ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा गैरबैंकिङ सम्पत्ति धेरै हुने दोस्रो स्थानमा रहेको हिमालयन बैंक रहेको छ । चालु आवको ८ महिनामा हिमालयनसँग ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति रहेको छ । जुन गत आवको तुलनामा ४३७ प्रतिशतले बढी हो ।

त्यस्तै, एनआईसी एशिया बैंकको गैरबैंकिङ सम्पत्ति ३५ प्रतिशतले बढेर ४ अर्ब ३८ करोड, नबिल बैंकको १५४ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५८ प्रतिशतले बढेर ३ अर्ब १० करोड, कुमारी बैंकको ३८ प्रतिशतले बढेर २ अर्ब ५८ करोड र प्राइम बैंकको २.५४ प्रतिशतले घटेर २ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

लक्ष्मी सनराइज बैंकको१९ प्रतिशतले बढेर १ अर्ब ६२ करोड, प्रभु बैंकको ११९ प्रतिशतले बढेर १ अर्ब २६ करोड, एनएमबि बैंकको ४४ प्रतिशतले बढेर १ अर्ब १४ करोड, सिटिजन्स बैंकको २५० प्रतिशतले बढेर १ अर्ब ५ करोड, कृषि विकास बैंकको ३०३ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ । अन्य ७ बैंकको गैरबैंकिङ सम्पत्ति भने १ अर्ब तल रहेको छ ।

शुक्रबार, १९ बैशाख २०८२, १३ : ५८

प्रतिक्रिया