हेटौँडामा रोकिराखेको गाडी जमिनमुनि भासिएर बेपत्ता

शनिबार, २० बैशाख २०८२, १२ : ३५

काठमाडौं- हेटौँडामा शुक्रबार अपराह्न एक्कासि जमिनमुनि भासिएको माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी (भ्यान) बेपत्ता भएको छ । 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीले जानकारी दियो ।

प्रहरीका अनुसार रोकिराखेको ठाउँमा एक्कासि सडक भासिँदा उक्त भ्यान बेपत्ता भएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ । गाडीका चालक र सहचालकले भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएको प्रहरीले जनाएको छ । 

गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । 

भासिएको गाडी पानीले गर्दा नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । 

शनिबार, २० बैशाख २०८२, १२ : ३५

प्रतिक्रिया