क्यानडामा कलेज बदल्न अब नयाँ अध्ययन पर्मिट अनिवार्य

बुधबार, २४ बैशाख २०८२, १० : ५४

काठमाडौं- क्यानडाले कलेज बदल्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका हकमा हालको व्यवस्थामा हेरफेर गरेको छ । क्यानडाको इमिग्रेसन, रेफ्युजिज एन्ड सिटिजनसिप क्यानडा आइआरसिसीले मे १ देखि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

नयाँ व्यवस्था अनुसार अब आफू भर्ना भएको कलेज छाडेर नयाँ कलेज जान चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अनिवार्य रूपमा नयाँ अध्ययन पर्मिट लिनुपर्ने छ । यसअघि कलेज बदल्न तुलनात्मक रूपमा सहज थियो र आइआरसिसीलाई कलेज बदल्ने बारे अपडेट मात्र गराए पुग्दथ्यो । अब भने अध्ययन पर्मिट आएपछि मात्र विद्यार्थीहरूले कलेज बदल्न पाउने छन् । 

यदि पर्मिटअघि नै कलेज बदलेको खण्डमा त्यसलाई अध्ययन पर्मिटका सर्तहरू उल्लघंन मानिने छ र भिसा समेत रद्द हुन सक्ने छ । यो नियम २०२४ नोभेम्बर २८ मै ल्याइएको थियो । तर सोही बेला नै सन् २०२५ अप्रिल ३० पछि मात्र अनिवार्य हुने भनिएको थियो । नयाँ अध्ययन पर्मिटका लागि आइआरसिसीको वेबसाइटमार्फत आवेदन दिन सकिने छ । त्यसका लागि पासपोर्ट, हालको अध्ययन पर्मिट, नयाँ कलेजको अफर लेटर, वित्तीय स्रोतको प्रमाण र शैक्षिक प्रमाणपत्रहरू आवश्यक पर्ने छ । 

बुधबार, २४ बैशाख २०८२, १० : ५४

प्रतिक्रिया