काठमाडौं- पानीका मुहान सुक्दै गएपछि सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिकाले रिचार्ज पोखरी निर्माणलाई तीव्रता दिएको छ । पानीको मुहान संरक्षण गर्ने उद्देश्यले नगरभित्रका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई तीव्रता दिइएको हो ।
नगर उपप्रमुख सीता थापाका अनुसार हरेक वर्ष नगरपालिकाले नीति तथा कार्यक्रममार्फत रिचार्ज पोखरी निर्माणका लागि सम्बोधन गरी बजेटसमेत विनियोजन गर्दै आएको छ । नगरपालिकाभित्र पाँच सयभन्दा बढी रिचार्ज पोखरी निर्माण सम्पन्न भइसकेका उनले जानकारी दिए । निर्माण सम्पन्न भएकामध्ये करिब ९० प्रतिशत रिचार्ज पोखरी वडा ११ मा रहेका भन्दै अन्य स्थानमा पनि काम थालिएको उनले बताए ।
“पानीको मुहान रहेको शीरमा पोखरी खनिएको छ । त्यो पोखरीमा बर्खामा आकाशबाट झरेको पानी जम्मा हुने गर्दछ । भिरालो जमिनमा खसेको पानी बगेर पोखरीमा जम्मा गरिएको हो । पोखरीमा बाह्रैमास पानी भएपछि आसपासका क्षेत्र रसाउने, जमिन सुख्खा नहुने भएकाले मूल पलाउने विश्वास गरिएको छ”, नगर उपप्रमुख थापाले भने ।
पोखरी निर्माण गरिएका स्थानमा सम्भावित खतरा हुनबाट जोगाउन घेराबारसमेत लगाइने गरिएको छ । काँडेतारको बार लगाएर घेराबार हालिएको बताउँदै उनले जंगली जनावर तथा बालबालिकाको सुरक्षालाई लक्षित गरी बार लगाइएको उल्लेख गरे ।
शीरमा बर्खाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुने गर्दछ । पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि मूल सुक्न थालेका छन् । निर्मित रिचार्ज पोखरीका कारण पानीको मुहानहरू संरक्षण हुनका साथै लुकेका मूलबाट पानी पलाउने विश्वास स्थानीयले गरेका छन् ।
अहिले सार्वजनिक स्थान, सामुदायिक वन र प्रमुख सडक आसपास क्षेत्रमा रिचार्ज पोखरी बनाइएको छ । पछिल्लोपटक वडा ११ ले चौतारा–बन्देऊ खण्डसँग जोडिएका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई प्राथमिकतामा राखिएको नगर कार्यालयले जनाएको छ ।
सडकसँगै रिचार्ज पोखरी निर्माण गर्दा एकातिर पानी पुनःर्भरण भएर जमिन रसाउने र अर्कोतर्फ सडक, नालाको भल पोखरीमा भरण हुँदा जमिन कटानी न्यूनीकरणमा सघाउ पुग्ने गरी सडक नजिक रिचार्ज पोखरी निर्माण गरिएको वडाध्यक्ष रोशनराज गिरीले बताए । उनका अनुसार यो सडक छेउमा पर्ने नालीलाई लक्षित गरेर पोखरी निर्माण गरिएको हो ।
भलसँगै बगेर आएको पातपतङ्कर सङ्कलन गर्दै कम्पोष्ट मल बनाउनका लागि पनि वडा लागिपरेको गिरीले उल्लेख गरे । वडा ११ ले रिचार्ज पोखरी मात्र हैन किसानलाई सहजताका लागि रोपाइँ पोखरी पनि निर्माण गर्दै आएको छ । -रासस
प्रतिक्रिया