काठमाडौं- वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको नयाँ ब्याजदर तोकेका छन् । नयाँ महिनाका लागि महिना सुरु हुनुअघि नै ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले जेठ महिनाका लागि ब्याजदर निर्धारण गरेका हुन् ।
बचत खातामा न्यूनतम ३.०० प्रतिशतदेखि ५.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका बचत निक्षेपको ब्याजदर बढीमा २ प्रतिशत भन्दा धेरै अन्तरमा राख्न नपाउने व्यवस्था छ । यस अनुसार साधारण तथा विशेष बचत खाताका ब्याजदरहरू निर्धारण भएका हुन् ।
व्यक्तिगत मुद्दती खातामा ३.०० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । व्यक्तिगत मुद्दतीमा तल्लो तहको सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको ३.०० प्रतिशत रहेको छ । तल्लो तहमै सबैभन्दा धेरै ब्याजदर प्रभु बैंकले ५.१० प्रतिशत अफर गरेको छ । एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर हेर्दा भने लक्ष्मी सनराइज बैंकको सबैभन्दा कम ३.५० प्रतिशत र प्राइम कमर्सियल बैंकको सबैभन्दा धेरै ५.७५ प्रतिशत रहेको देखिएको छ ।
त्यस्तै, संस्थागत मुद्दती खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । यसमा धेरैवटा बैंकले तल्लो सीमामा न्यूनतम ३.०० प्रतिशत ब्याजदर दिँदै आएका छन् । तल्लो सीमामा सबैभन्दा धेरै ब्याज ३.२५ प्रतिशत रहेको छ । हिमालयन, प्राइम र सिद्धार्थ बैंकले यस्तो ब्याजदरको अफर गरेका छन् । त्यस्तै, माथिल्लो सीमामा सर्वाधिक ब्याजदर निर्धारण गर्नेमा एनएमबि बैंक र एनआईसी एसिया बैंक रहेको छ । यसमा सबैभन्दा धेरै ब्याज प्राइम कमर्सियल बैंकले ५.७५ प्रतिशत दिँदा माथिल्लो तहमा न्यूनतम कृषि विकास बैंकको ३.२५ प्रतिशत रहेको छ ।
एक वर्षे मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् । एक वर्षे मुद्दतीमा ५ प्रतिशत ब्याज दिने बैंक एनआईसी एसिया रहेको छ ।
तीन बैंक नेपाल, एभरेस्ट र सानिमाले वैशाखको तुलनामा जेठमा सामान्य बढाएका छन् । तीन बैंक नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले सामान्य घटाएका छन् ।
बैंकको नाम | व्यक्तिगत ब्याजदर (%) | संस्थागत ब्याजदर (%) |
---|---|---|
सानिमा बैंक | 6.33 | 4.50 |
नेपाल बैंक | 5.45 | 4.00 |
एभरेष्ट बैंक | 6.64 | 5.64 |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | 5.50 | 4.50 |
सिद्धार्थ बैंक | 5.75 | 4.75 |
कुमारी बैंक | 5.91 | 4.91 |
एनआईसी एशिया बैंक | 6.60 | 5.60 |
सिटिजन्स इन्टरनेशनल बैंक | 5.65 | 4.00 |
प्रभु बैंक | 6.10 | 5.00 |
राष्ट्रिय वाणिज्य बैंक | 6.00 | 4.00 |
नेपाल एसबीआई बैंक | 5.50 | 4.50 |
प्राइम कमर्सियल बैंक | 6.25 | 3.50 |
ग्लोबल आइएमई बैंक | 6.00 | 4.25 |
एनएमबी बैंक | 6.60 | 5.60 |
हिमालयन बैंक | 5.50 | 4.00 |
कृषि विकास बैंक | 5.51 | 3.25 |
माछापुच्छ्रे बैंक | 6.00 | 4.00 |
स्ट्याण्डर्ड चार्टर्ड बैंक | 6.25 | 3.25 |
नबिल बैंक | 5.75 | 4.05 |
लक्ष्मी सनराइज बैंक | 5.75 | 4.50 |
प्रतिक्रिया