कोहलपुरमा प्लास्टिक फोहोरविरुद्ध सरसफाई अभियान सम्पन्न

शनिबार, ०३ जेठ २०८२, १६ : २८

काठमाडौं- “तरकारीमा मिठो जिरा, लागुपदार्थ सेवन गर्नेको मुखमा किरा” भन्ने नारा सहित नेपालगञ्जको कोहलपुरमा शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। प्लास्टिकजन्य फोहोर न्युनिकरण र वातावरणीय चेतनाको लागि आयोजित सो कार्यक्रममा एक सयभन्दा बढी नागरिक, विद्यार्थी, स्वयंसेवक, स्थानीय प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

“प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य” भन्ने मूल नाराका साथ सम्पन्न उक्त सरसफाई अभियान कोहलपुर नगरपालिका–८ को सहकार्यमा बास नेपालले आयोजना गरेको हो। कार्यक्रममा रेष्टलेस डेभलपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग रहेको थियो। अभियान बिहान ७ बजे झण्डहा चोकबाट सुरु भई पिपरी चौकसम्म सडक दायाँबायाँ सरसफाई गर्दै सम्पन्न भएको थियो।

कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष लाल बहादुर रानाले गरेका थिए। उद्घाटनको क्रममा उनले सरसफाईसँग सम्बन्धित नाराहरू सार्वजनिक रूपमा पढेर उद्घोष गरेका थिए। कार्यक्रमको प्रारम्भमा बास नेपालका वनसम्पर्क अधिकृत माधव कार्कीले “प्लास्टिकजन्य चक्रीय अर्थतन्त्र प्रवद्र्धन गरौं, रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं” जस्ता स्लोगन वाचन गर्दै सरसफाई अभियानको उद्देश्य र महत्वबारे जानकारी दिएका थिए।

सरसफाईका क्रममा सहभागीहरूले प्लास्टिकजन्य फोहोरहरू मध्येकै रूपमा सबैभन्दा बढी श्यामबहार, सुर्ति र मेघाश्रीजस्ता उत्पादनका प्याकेटहरू सडक किनारमा भेटिएको बताएका थिए। उनीहरूले यस्तो किसिमको फोहोर अत्यधिक देखिनु दुःखद र चिन्ताजनक भएको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा सहभागी यमुना घिमिरेले “अब सरसफाई गरौं भन्दा पनि फोहोर नगरौं भन्ने सोचलाई प्राथमिकता दिन जरुरी छ” भन्दै व्यवहार परिवर्तनका लागि सचेतना अभियानको खाँचो औंल्याइन्।

कार्यक्रमको समापनमा बोल्दै बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले सरसफाई गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै प्लास्टिकको प्रयोगमा आजैबाट कटौती गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले वातावरणमा प्लास्टिकको असर गम्भीर बन्दै गएको भन्दै यसविरुद्ध सबैको संयुक्त प्रयास जरुरी रहेको बताइन्।

वडा अध्यक्ष रानाले पनि समापन मन्तव्यमा बास नेपाल र अन्य संस्थाहरूको सहकार्यमा आयोजना गरिएको अभियानको प्रशंसा गर्दै आगामी दिनमा सरसफाई कार्यक्रमलाई वडासँग सहकार्यमा निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

शनिबार, ०३ जेठ २०८२, १६ : २८

प्रतिक्रिया