काठमाडौं- उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाएर आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । ‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नारासाथ सिमेन्ट उत्पादक संघले ललितपुरमा आयोजना गरेको ‘सिमेन्ट कन्क्लेभ’ कार्यक्रममा उनले स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने धारणा राखेका हुन् ।
सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा लागतका हिसाबले सामग्री आयात गर्नुभन्दा आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गरे यसले उत्पादनलाई पनि बढवा दिने सिंहको भनाई छ ।
‘आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न यसको उल्लेख्य भूमिका रहन्छ । त्यसैले यी पक्षलाई ध्यानमा राखेर काम गरौँ,’ उपप्रधानमन्त्री सिंहले भने– ‘सिमेन्ट उत्पादनको कुरा गर्दा ४२ मिलियन मेट्रिक टन सिमेन्ट हामीले नेपालमा नै उत्पादन गर्ने गरेका छौँ । सामानहरू आयात गर्नुभन्दा पनि आफ्नै देशमा उत्पादन भएको सिमेन्टलाई प्रयोग गर्दा उद्योगलाई पनि बढवा दिन सकिन्छ र आयातलाई पनि रोक्न सकिन्छ । यसतर्फ पनि ध्यान जानुपर्छ ।’
सिंहले नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोगले बाटोहरू गुणस्तरयुक्त हुने पनि बताए । सुरुमा सिमेन्टको लगानी धेरै भए पनि सिमेन्टको प्रयोगले बाटोघाटो निर्माण गर्न सहज हुने र लामो समय टिक्ने भएको हुनाले यसको प्रयोग राम्रो हुने उनको भनाइ थियो ।
प्रतिक्रिया