विश्व स्वास्थ्य संगठनद्वारा स्वास्थ्यमन्त्री पौडेल पुरस्कृत

सोमबार, ०५ जेठ २०८२, १६ : ५३

काठमाडौं- सुर्ती जन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाललाई विश्व स्वास्थ्य संगठनले पुरस्कृत गरेको छ । 

विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५ का लागि नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महानिर्देशकको विशेष सम्मान अवार्ड प्राप्त गरेको हो ।

विश्व स्वास्थ्य संगठनको ७९ औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई पुरस्कृत गरेका हुन् ।

हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने शिलशिलामा यस वर्ष नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पुरस्कृत गरिएको संगठनले जनाएको छ ।

मन्त्री पौडेलले सुर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थासम्बन्धी निर्णय गरेका थिए । अब यो निर्णय कार्यान्वयनमा आउनेछ । सरकारको यस निर्णयलाई विश्व स्वास्थ्य संगठनले असाधारण योगदान भनेको छ ।

सोमबार, ०५ जेठ २०८२, १६ : ५३

प्रतिक्रिया