काठमाडौं— नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले सन् २०२४ (जनवरीदेखि डिसेम्बरसम्म) का गतिविधिहरू समेटेर चौथो संस्करणको प्रतिवेदन सार्वजनिक गरेको छ।
उक्त प्रकाशनमा इकाईले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी विभिन्न तथ्यांक, विश्लेषण र जानकारीमूलक सामग्री समावेश गरेको छ।
प्रतिवेदनअनुसार सन् २०२४ मा इकाईले ९,३०४ वटा शंकास्पद कारोबार तथा गतिविधिको प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४९ प्रतिशतले बढी हो। तीमध्ये १,८९४ प्रतिवेदन विश्लेषण गरिएकोमा १,०८६ वटा प्रतिवेदन अनुसन्धान र नियमनका लागि सम्बन्धित निकायहरूमा प्रवाह गरिएको छ भने ८०८ वटा प्रतिवेदन अभिलेखीकरण गरिएको छ।
त्यसैगरी, सीमा कारोबार प्रतिवेदनको संख्या पनि सन् २०२३ को १७,८३,१८३ बाट बढेर सन् २०२४ मा १९,७२,८५५ पुगेको छ। गोएएमएल प्रणालीमा आवद्ध संस्थाहरूको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भई १,४९६ बाट १,९०५ पुगेको इकाईले जानकारी दिएको छ।
इकाईले सन् २०२४ मा कर्मचारी, सूचक संस्था तथा सरोकारवाला निकायहरूका लागि विभिन्न प्रशिक्षण र क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वयको पहल पनि अघि बढाएको जनाएको छ।
प्रतिवेदनमा इकाई तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा लेखिएका दुईवटा विशेष लेखहरू, प्रकाशित प्रतिवेदन, मार्गदर्शन सामग्रीहरू र उपयोगी लिंकहरू समेत समावेश छन्।
प्रतिक्रिया