गभर्नरको उल्झनमा सत्ता गठबन्धन, देउवालाई टार्दै ओली

मंगलबार, ०६ जेठ २०८२, ०९ : २३

काठमाडौं- राष्ट्र बैंकको गभर्नर पद रिक्त भएको करिब एक महिना नाघे पनि नयाँ नियुक्तिको प्रक्रिया अझै अन्योल बनेको छ । सत्तारुढ कांग्रेस एमालेबीच गर्भनर नियुक्तिमा सहमति भएको भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अड्को थाप्दा गर्भनर नियुक्ति प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ ।

गर्भनरको नियुक्तिको किचलोले सत्ता गठबन्धनका नेताहरुको भेटवार्ता समेत पातलिन थालेको छ । सोमबार तय भएको प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेट अन्तिम समयमा स्थगित भएको छ । कांग्रेस एमाले दुबैले गर्भनरमा दाबी गर्दा गठबन्धनमा दरार उत्पन्न भएर सोमबार मन्त्रिपरिषद् बैठक समेत बस्न सकेन । 

यस अघि गर्भनर नियुक्तिका दाबेदार रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक गोकर्ण भट्टको राजीनामा समेत स्वीकृत नभएपछि उनको सम्भावना टरेको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीकै दबाबमा भट्टको राजीनामा स्वीकृत नगराएर गर्भनरको दौडबाट बाहिरिन बाध्य पारिएको हो । कामु गर्भनरले राजीनामा स्वीकृत नगरेको बताइएपनि प्रधानमन्त्री ओलीकै दबाबमा ढुंगानाले राजीनामा स्वीकृत नगरेको स्रोतको दाबी छ ।

ओली यिनै ढुंगानालाई नै गर्भनर बनाउन चाहन्थे । तर सत्ता गठबन्धनकै प्रमुख साझेदार कांग्रेसले आफूले पाउनुपर्ने माग गरेपछि ओली पछि हटेका हुन् । अहिले आलटाल गर्दै कुनै पनि हालतमा कांग्रेसलाई गर्भनर नदिने पक्षमा ओली लागेको एमाले स्रोतले जनाएको छ । बरु सत्ता समीकरण परिवर्तन गर्ने तर गभर्नर नदिने अडानमा ओली रहेको बुझिएको छ ।

कांग्रेसले भट्टको राजीनामा स्वीकृत नभएपछि गभर्नर सिफारिस समितिमै रहेका डा.विश्व पौडेललाई नै गभनरका लागि अघि सारेको थियो । उनले सोही प्रयोजनका लागि सिफारिस समितिबाट राजीनामा समेत दिइसकेका थिए । तर एमालेले त्यसमा पनि रुचि नदेखाउँदा गभर्नर नियुक्ति प्रक्रियाले कुनै गति लिन सकेको छैन ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति रहेको छ । गभर्नर बन्ने तरखरमा सिफारिस नेपाली कांग्रेसको तर्फबाट समितिका सदस्य पौडेलले वैशाख २६ गते राजीनामा दिएका थिए ।

 

 

मंगलबार, ०६ जेठ २०८२, ०९ : २३

प्रतिक्रिया