काठमाडौं- बिटक्वाइनको मूल्य १ लाख १० हजार डलरमाथि पुग्दै नयाँ रेकर्ड बनाएको छ ।
रेकर्ड उच्च विन्दुमा पुगेपछि कारोबारीहरु मुख्य क्रिप्टोकरेन्सीको सम्भावनाप्रति झनै आशावादी हुँदै गएका छन् । ब्लुमबर्गको तथ्यांक अनुसार बिटक्वाइनले बिहीबारको प्रारम्भिक एसियाली कारोबारमा २.२ प्रतिशतसम्मको वृद्धि हासिल गर्दै १ लाख १० हजार ७०७ डलरसम्म पुगेको थियो ।
त्यसपछि भने बिटक्वाइनको मूल्यमा केही गिरावट देखिएको छ । अमेरिकाको सिनेटमा एक महत्वपूर्ण स्टेबलकोइन विधेयक अगाडि बढेको छ । यससँगै क्रिप्टो सञ्चालकप्रति नियामक स्पष्ट बन्दै गएको संकेत देखिएपछि बिटक्वाइनप्रति कारोबारीहरुमा आशावादको लहर देखिएको छ ।
५० अर्ब डलरभन्दा बढी मूल्यको बिटक्वाइन संकलन गरिसकेको अमेरिकी व्यापारी माइकल साइलरको कम्पनीबाट आएको तीव्र माग र डिजिटल सम्पत्ति सञ्चय गर्नेहरुको संख्या बढ्नु बिटक्वाइनको भाउमा वृद्धि ल्याउने अर्को कारण देखिएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार वाशिङ्टन नजिकै रहेको आफ्नै गल्फ क्लबमा आफ्नै मेमेकोइनका ठूला होल्डरहरुसँग डिनर बैठक गर्ने तयारी गरिरहँदा बिटक्वाइनले पछिल्लो कीर्तिमानी उचाई बनाएको हो ।
यस कार्यक्रमले नैतिकतासम्बन्धी विज्ञहरुमा भने चिन्ता उत्पन्न गराएको छ । यो कार्यक्रमले राष्ट्रपति ट्रम्पलाई प्रत्यक्षरुपमा आर्थिक फाइदा हुने किसिमका कारोबारमार्फत पहुँच उपलब्ध गराउने उनीहरुको भनाई छ ।
प्रतिक्रिया