काठमाडौं– अरुलाई नैतिकताको पाठ सिकाउने गृहमन्त्री रमेश लेखक आफैंमाथि गम्भीर आरोप लाग्दा पनि नैतिकता प्रदर्शन गरेका छैनन् । सहकारी प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने मुछिएपछि उनले गत चैतमा संसदमा नैतिक प्रश्न उठाउँदै राजीनामा दिएका नेताहरुको फेहरिस्त प्रस्तुत गरेर उनको राजीनामा मागेका थिए ।
अहिले आफूमाथि भिजिट भिसा प्रकरणमा मन्त्रालयकै कर्मचारीसँगको मिलेमतोमा दैनिक पचास लाख असुलेको गम्भीर आरोप लाग्दा पनि राजीनामा नदिने अडानमा रहेका छन् । उनले शनिबार राजीनामा नदिने बरु आफ्नो सार्वजनिक जीवनमै कुनै आर्थिक अपचन गरेको प्रमाणित भए राजनीति नै परित्याग गर्ने घुर्कीपूर्ण अभिव्यक्ति दिँदै पन्छिए ।
तत्कालीन कांग्रेसका सचेतक समेत रहेका लेखकले सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री लामिछानेमाथि संसदमा त्यसअघि विभिन्न प्रकरणमा राजीनामा दिएका नेताहरुको उदाहरण दिँदै नैतिक प्रश्न उठाएर राजीनामा दिन सुझाएका थिए ।
उनले भनेका थिए, ‘यदि कुनै मन्त्री अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो, राज्यको कुनै निकायले यदि अनुसन्धान गर्ने स्थिति भयो भने त्यस्ता मन्त्रीजी पदमा रहन पाउनुहुन्न, रहनुहुन्न । ’
यस्तै उनले कांग्रेसका तत्कालीन अर्थमन्त्री रामशरण महतमाथि प्रश्न उठेको र उनले पनि राजीनमा दिएको नजिर प्रस्तुत गरेका थिए । उनले भनेका थिए, ‘यसअघि रामशरण महत अर्थमन्त्री भएका बेला उहाँमाथि प्रश्न उठ्यो उहाँले राजीनामा दिनुभएको इतिहास यसै संसदमा छ ।’
गृहमन्त्री लेखकले गोकुल बाँस्कोटाको अडियो प्रकरण कोट्याउँदै उनको राजीनामालाई पनि नैतिकता प्रदर्शको रुपमा औंल्याएका थिए ।
उनले सदनमा भनेका थिए, ‘माननीय गोकुल बाँस्कोटाजी अहिले पनि माननीय सदस्य हुनुहुन्छ । उहाँका माथि प्रश्न उठ्दा पनि छानबिनका लागि मार्गप्रशस्त गर्नुभएको छ । राजीनामा दिनुभएको छ, त्यो पनि संसदको इतिहास छ ।’
त्यस्तै उनले तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र अर्थमन्त्री जनार्दन शर्माको उदाहरण पनि प्रस्तुत गरेका थिए ।
‘माननीय शेरबहादुर तामाङजी मन्त्री हुँदा बोल्दा केही कुरा बिग्रियो, बेठीक बोल्नुभयो भनेर प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको इतिहास छ ।’, उनले भनेका थिए, ‘पछिल्लो समय जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेटबारे प्रश्न उठ्दाखेरि पनि राजीनामा गर्नुभएको थियो । यहाँ छानबिन समिति गठन भएको थियो ।’
यसरी अरुमाथि नैतिक प्रश्न उठाउन अनेकौं उदाहरण प्रस्तुत गरेका गृहमन्त्री लेखकले आफूमाथि भिजिट भिसामा लाखौं ठगीको आरोप लाग्दा भने विषयान्तर गर्दैै अन्यत्र मोड्न खोजेका छन् । उनले सार्वजनिक जीवनमा कहीँकतै आर्थिक अपचलन गरेको भए राजनीति नै परित्याग गर्ने भन्दै तत्कालीन आरोपलाई अन्यत्र मोडेर सहानुभूति बटुल्ने दाउमा लागेका छन् ।
प्रतिक्रिया