पूर्वराजालाई माधव नेपालको चुनौती– चुनाव जितेर अगाडि बढ्ने आँट गर्नुस्

विहीबार, १५ जेठ २०८२, १३ : २६

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने मन भए जनताको मन जितेर चुनाव जितेर आएर प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । 

गणतन्त्र दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावबाट जनताको मन जितेर अगाडि बढ्न चुनौती दिएका हुन् ।

उनले भने, ‘प्रतिस्पर्धाबाट जनताको मन जितेर अगाडि बढ्ने आँट गर्नुपर्‍यो। मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव छैन र हुन पनि दिँदैनौँ। हिजो पनि गणतन्त्रको लागि अग्रगामी भूमिका खेलेको थियौँ। हामीले अन्तिम समयसम्म दृढताका साथ उभिएर आम जनताको चाहना बमोजिम परिवर्तन ल्याएका हौँ।’

उनले समयअनुसार चल्न नसक्ने मान्छे निराशाको सिकार हुने बताए। भ्रष्टाचारविरुद्ध सरकारले कदम नचालेसम्म परिणाम प्राप्त हुन नसक्ने उनको भनाइ थियो ।

विहीबार, १५ जेठ २०८२, १३ : २६

प्रतिक्रिया