काठमाडौं - राजावादीहरुले गणतन्त्र दिवशको दिन गरेको जनप्रदर्शन तथा आन्दोलनलाई ‘ऐतिहासिक’ बनेको ठहर गरेका छन् । एमाले र राजावादीहरुले एक अर्कालाई प्रतिकार गर्ने गरी आएका परस्पर बिरोधी अभिव्यक्तिहरुको कारण सर्वसाधारणमा त्रास फैलिएको थियो । तर दुवै पक्षलाई भेट्न नदिने सुरक्षा रणनीति अपनाइएकोले त्यस्तो कुनै अप्रिय घटना हुन पाएन । साथै, प्रधानमन्त्री केपी ओलीको ‘काठमाडौं कब्जा गर्ने’ परिकल्पनाले हावा खाएकोमा राजावादीहरु थप उत्साहित देखिएका छन् ।
जेठ १५ को खड्को टरे पनि राष्ट्रिय राजनीतिमा छाएको अनिश्चितता र संशयको भने अन्त्य भएको छैन् । राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना तथा संघीयता खारेजीको एजेन्डासहित संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको अगुवाइमा सुरु भएको अनिश्चितकालीन आन्दोलन माग पूरा नभएसम्म जारी रहने राजावादीहरुले बताएका छन् । यसर्थ, निकट भविष्यमा परिस्थितिले कुन रुप लिने हो यसै भन्न सकिने अवस्था छैन ।
बिहीबार पहिलो दिनको आन्दोलन शान्तिपूर्ण र आयोजकहरुको शब्दमा ऐतिहासिक भएको छ । त्यसैले राजावादी आन्दोलनले निरन्तरता पाउने आँकलन गरिएको छ । उता सत्ताको नेतृत्व गरेको एमाले राजसंस्थावादीहरुको प्रतिकार गर्न सडकमा उत्रे पनि अपेक्षित जनसहभागिता नभएपछि राष्ट्रिय राजनीतिको बारेमा विभिन्न विश्लेषणहरु हुन थालेको पाइन्छ । गणतन्त्रको जग कमजोर भएको हो त ? यदि हो भने कसको कारणले यो अवस्था आएको हो ? प्रधानमन्त्री ओली नै मुलुकमा भिडन्तको अवस्था सिर्जना गर्न लागेका त होइनन् ? या त उनी मुलुकमा अराजकता निम्त्याएर विदेशी हस्तक्षेपको आमन्त्रण गर्न त खोजिरहेका छैनन् ? आज नेपाली नागरिकहरु सरकार र व्यवस्थाको बारेमा गम्भीर रुपमा प्रस्तुत भैरहेको देखिन्छ ।
सरकारका पछिल्ला गतिबिधिहरुको कारण पनि मानिसहरुमा आक्रोश र निराशा पैदा भएको छ । केही समय पहिले कुलमान जस्ता कुशल व्यवस्थापकलाई हटाएर देशलाई इन्भर्टर युगतर्फ लैजान खोज्नु, दलाल व्यवसायीहरुबाट विद्युत बक्यौता वापतको २२ अर्ब रुपैयाँ उठाउन नदिनु र हालै मात्र ज्यूँदै मान्छेलाई इट्टा भट्टामा हालेर मार्ने अभियोगमा एउटा अदालतले सजाय तोकेको व्यक्ति आलम खानलाई सत्ताकै आडमा उन्मुक्ति दिनु जस्ता कार्यहरुले सरकार नांगिएको अवस्था छ ।
यसबाट सामान्य जनताले न्याय नपाउने परिस्थिति बनेको टिप्पणी हुन थालेको छ । यसले सरकार मात्र बदनाम भएको छैन, व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । गणतन्त्र भनेको सत्ताधारीहरुको स्वार्थ पूर्ति गर्ने र विभिन्न अपराधहरु जन्माउने कारखाना हो रहेछ भन्ने आम बुझाई हुन थालेको छ । जसले गर्दा व्यवस्था उल्टाउन खाज्नेहरुलाई बल पुगेको छ ।
गणतन्त्र दिवसकै दिन राजतन्त्र पुनस्र्थापनाको लागि आन्दोलनको घोषणा हुन सामान्य विषय हुन सक्तैन । आज राजावादीहरु हाँकाहाँकी गणतन्त्रलाई चुनौति दिने हैसियतमा पुगेका छन् । अहिले शान्तिपूर्ण देखिए पनि आन्दोलन अन्ततः हिंसात्मक पनि हुन सक्छ । सरकार अलोकप्रिय बन्दै जाँदा राजावादीहरुको मनोबल बढ्दै जानेछ र राज्य आफैले बल प्रयोग गर्नुपर्ने अवस्था उत्पन्न हुन सक्छ । तसर्थ, राजावादीहरुको प्रतिकार गर्नुभन्दा सरकारले गलत र जनबिरोधी काम गर्नुहुँदैन ।
प्रधानमन्त्री ओलीको चाहना विपरित रत्नपार्कमै गणतन्त्र दिवसकै दिन राजसंस्था पुनःस्थापनाको आन्दोलन चर्काइयो नारा घन्काइयो । जसलाई राजावादीहरुले ऐतिहासिक उपलब्धी भनेका छन् । ओलीले त राजावादीहरुलाई चक्रपथ बाहिरै सिमित गर्ने निर्देशन दिएका थिए । बरु उनले गणतन्त्र रक्षाका लागि आफ्ना कार्यकर्तालाई सशक्त प्रतिकार गर्न भनेका थिए । उनको चाहना विपरित एमालेको कार्यक्रम फितलो देखियो भने राजावादीहरुको जुलुस अपेक्षाकृत ठूलो देखियो । एमालेको कार्यक्रममा अपेक्षा गरे अनुसारको सहभागिता नदेखेर होला प्रधानमन्त्री उपस्थित भएनन् ।
प्रतिक्रिया