पूर्वराष्ट्रपतिलाई उच्च सम्मान गर्ने भन्दै एमालेले रोक्यो विद्याको पुनरागमन

बुधबार, ०७ साउन २०८२, ११ : ४४

काठमाडौं– नेकपा(एमाले)को सक्रिय राजनीतिमा फर्किन पार्टी सदस्यता नवीकरण गरेको सार्वजनिक उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको पुनरागमनमा अवरोध उत्पन्न भएको छ । 

मंगलबार मध्यराति सकिएको एमालेको  नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्किए गणतान्त्रिक व्यवस्थामै प्रश्न उठ्ने बताउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको पुनरागमनमा रोक लगाएका हुन् । 

केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न कारण दिँदै सक्रिय राजनीतिमा पुनरागमन गर्न नहुने उल्लेख गर्दै पूर्वराष्ट्रपतिलाई सम्मान गर्ने निर्णय गरिएको जनाइएको छ । 

‘नेपालको संविधानको भाग ६ धारा (६१)मा राष्ट्रपतिको व्यवस्था गरेको छ । सोही धाराको २ मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने सोही धाराको ३ मा राष्ट्रिय एकताको प्रवर्द्धक,सोही धाराको ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा २६७ को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ’, विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको राष्ट्राध्यक्ष,राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, संविधानको  पालनाकर्ता र संरक्षणकर्ता ,सेनाको परमाधिपति,साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ, त्यसकारण बैठकले पूर्वराष्ट्रपतिलाई उच्चसम्मान गर्ने निर्णय गरेको छ ’ 

 
 
बुधबार, ०७ साउन २०८२, ११ : ४४

प्रतिक्रिया