झापा इनर्जीको प्रथम चरणको आईपीओ निष्कासन, यसरी दिन सकिन्छ आवेदन

बुधबार, १४ साउन २०८२, १० : १७

काठमाडौं- झापा इनर्जी लिमिटेडले आज साउन १४ गतेदेखि आईपीओ निष्कासन गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।

कम्पनीले प्रथम चरणको आईपीओ जारी गरेको हो यसमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीले मात्रै आवेदन दिन सक्नेछन्।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

आयोजना प्रभावितलाई छुट्याइएको जम्मा आईपीओको आधा अर्थात् १ लाख ९० हजार ९५ कित्ता झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा रहको आयोजनाको १०० मिटर वरपर बस्ने नागरिकले र बाँकी १ लाख ९० हजार ९५ कित्ता सोही नगरपालिकाको आयोजनाको १०० मिटर वरपरको क्षेत्र बाहेकमा बस्नेले आवेदन दिन सक्नेछन्।

यसमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यसर्थ यो आईपीओ भर्न कम्तीमा १ हजार रुपैयाँ र बढीमा ५ लाख रुपैयाँ लाग्नेछ।

आयोजना प्रभावितले साउन १४ देखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ १२ गतेसम्म लम्बिनेछ। यता वैदेशिक रोजगारीमा रहेकाले साउन १४ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म लम्बिनेछ।

आयोजना प्रभावितले हिमालयन बैंकको दुधे, दमक–१, दमक–२, सुरुंगा शाखा कार्यालय, माछापुच्छ्रे बैंकको सुरुंगा र दमक शाखा कार्यालय र कम्पनीको आयोजना स्थानबाट भौतिक रूपमा दरखास्त फाराम प्राप्त गर्न सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेकाले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयर एप प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यस कम्पनीले ईक्रा नेपाल लिमिटेडबाट ‘ईक्राएनपी–आईआर बी माइनस’ रेटिङ पाएको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन हुनेछ। यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ।

 
 
बुधबार, १४ साउन २०८२, १० : १७

प्रतिक्रिया