काठमाडौं – एक दशक अगाडिसम्म नेपाली फिल्ममा आफ्नो बलियो साम्राज्य बनाएका अभिनेता राजेश हमाल गएको तीन वर्षदेखि फिल्मबाट निस्क्रिय जस्तै छन् । उनले निकै आशा गरेका पछिल्ला दुई फिल्म 'बागमती' र सकुन्तला' ले व्यापारिक सफलता हात पार्न असफल भएपछि उनी अभिनयमा फर्किएका छैनन् । न त उनी तत्काल फिल्म गर्ने मनस्थितिमा नै छन् । अफर आएका सबै फिल्म रिजेक्ट गरिरहेका छन् ।
हालसालै उनलाई चर्चित सिरिज ‘प्रेमगीत’ को तेस्रो पार्टमा अभिनेता प्रदीप खड्काको पिताको भूमिकाका लागि अफर गरिएको थियो । निर्माता सन्तोष सेन र अभिनेता खड्कासँग हमालले तीन चरणमा वार्ता पनि गरे । तर, फिल्मको स्क्रिप्ट राम्रो लाग्दालाग्दै पनि उनले गरेनन् । समय व्यस्तताका कारण हमालले फिल्म गर्न नसकेको निर्माता सेनले बताएका थिए । तर, यस विषयमा हमाल मौन थिए ।
अन्ततः अभिनेता राजेश हमालले ‘प्रेमगीत ३’ गर्न नसक्नुको कारण खुलाएका छन् । एक अन्तर्वार्तामा उनले आफ्नो समय व्यस्तता नै फिल्म गर्न नसक्नुको कारण बताए । हमाल भन्छन्, ‘हाम्रो तीन पटकसम्म भेट भएको थियो । मलाई फिल्मको स्क्रिप्ट राम्रो लाग्यो । तर, मैले उहाँहरुलाई फिल्मको छायांकन सुरु हुने बेला मेरो समय नमिल्ला कि भनेको थिएँ । किनकि, आजभोली मैले फिल्म नगरे पनि व्यस्तता झनै बढेको छ ।’
आफ्नो कारणले फिल्मलाई असर नगरोस् भन्ने लागेर ‘प्रेमगीत ३’ छाडेको उनले बताए । उनले आफूले पिताको रोल भएका कारण फिल्म छाडेको चर्चाको पनि खण्डन गरे । ‘एउटा कलाकारका लागि भूमिकाले अर्थ राख्दैन । हो, आफ्नो भूमिका कति शक्तिशाली छ भन्ने चाहिँ हुन्छ तर यो गर्ने त्यो नगर्ने भन्ने चाहिँ हुँदैन । मैले पिताको भूमिका भएकै कारण ‘प्रेमगीत ३’ छाडेको चाहिँ होइन’, उनले प्रस्ट्याए ।
अभिनेता हमालले अभिनेता प्रदीप खड्काको पनि प्रशंसा गरे । आफूजस्तै गफ गर्न रुचाउने प्रदीपलाई फिल्ममा ‘नाताले म तेरो बाऊ हुँ’ भन्न नपाएकोमा हमाल दुःखी छन् । प्रदीपसँगको भेट सम्झिँदै उनले भने( ‘जुन प्रोजेक्टमा उहाँ आबद्ध हुनुहुन्छ त्यसका लागि दिलोज्यान दिनुहुन्छ । म उहाँको लगनशिलता र उर्जा देखेर एकदमै खुसी भएँ । प्रदीप जीसँगको भेटघाट एकदमै रमाइलो भयो । तर, मैले उहाँलाई 'म तेरो बाऊ हुँ' भन्न चाहिँ पाइनँ ।
प्रतिक्रिया