काठमाडौं– नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिस डाँडामा दोलखाका बोत्लेमा शहीद भएकाहरूको स्मृति दिवस मनाएको छ । १८ साउन २०५९ मा दोखलाको बोत्लेमा राज्यपक्षबाट मारिएका १४ जनाको स्मृतिसभामा राज्यद्वारा भएको उक्त हत्यामा पत्नी गुमाएका शंकर लामाले भक्कानिँदै नेताका परिवारहरू शहीद हुँदा स्मृति दिवस मनाइरहिने तर सर्वसाधारणका परिवार शहीद हुँदा वास्ता नगरिएको गुनासो गरेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी उक्त कार्यक्रममा बोल्दै दोलखाका लामाले शहीद पनि वर्गीय भएको बताएका छन् । उनले भने, ‘शहीद पनि वर्गीय भएका छन् । नेताहरूका आफन्त शहीद हुँदा स्मृति दिवस मनाइरहने तर सर्वसाधारणका परिवार शहीद हुँदा वास्ता नगर्ने भइयो । उनले शहीदहरूको अभिलेख राखेर सबैको स्मृति दिवस मनाउनुपर्छ ।’
उनले सर्वसाधारणका परिवार शहीद हुँदा पनि पार्टीले मनाउनुपर्छ भनेर नेताहरूलाई झकझकाउन १० दिनसम्म खटेर यो कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘देशैभरका शहीदहरूको यस्तो डकुमेन्ट बनोस्, अनि शहीद परिवारको पनि अलिकति मन शान्त हुन्छ कि । घाइतेहरूको पनि अलिकति मन शान्त हुन्छ कि । त्यो भएपछि पार्टी पनि अलिकति सुदृढ हुन्छ कि ।’
आफूसँगै भएका १४ जनामध्ये आफू हाम फालेर बाँचेको पनि सुनाए । उनले भने, ‘१७ हजारको हत्यारा माओवादी हो भनेर भन्दै आएका छन् । तर, १७ हजारको हत्यारा को हुन् भनेर पत्रकार साथीहरूले अहिले पनि खोजेर बाहिर ल्याउनुपर्छ । माओवादीले परिवर्तनका लागि गरेको आन्दोलनलाई बंग्याएर लेख्ने गरिएको छ । सत्यतथ्य लेखिदिनुपर्छ ।’
लामाले भने, ‘देशभरिका शहीद परिवारको डकुमेन्ट तयार होस् । सम्झना दिलाउन, देशभरिका शहीद परिवारको मन शान्त होस्, घाइतेहरूको पनि मन शान्त हुने काम पार्टीले गर्नुपर्छ । राम्रो नराम्रो जस्तो भए पनि पार्टीलाई देखाउँछु भनेर खटेको थिएँ । देखाउन पाएँ ।’
प्रतिक्रिया