काठमाडौं- माबिलुङ इनर्जी लिमिटेडले आज साउन २६ गतेदेखि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँडपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार ४७१ कित्ता साधारण सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरको १३ लाख ५४ हजार २३५ कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ३० हजार ९५ कित्ता सेयर कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।निष्कासन बन्द छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गते हुनेछ।
कम्पनीले सञ्चालन गरेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ छ। आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको छ।
प्रतिक्रिया