दरमखोला हाइड्रोको आईपीओ साउन २९ गते बाँडफाँड हुने

मंगलबार, २७ साउन २०८२, १४ : १६

काठमाडौं- दरमखोला हाइड्रो इनर्जीको आईपीओ साउन २९ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले साउन २९ गते बिहीबार बिहान आईपीओ बाँडफाँडको तयारी गरेको हो ।

कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा साढे ११ गुणा बढी हो । आवेदकमध्ये २१ लाख ३० हजार भन्दा बढीको हात खाली हुनेछ । 

यस आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता सेयर हात पार्नेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरिसकेको छ ।

बाँकी सेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी बाँकी २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणमा निष्कासन गरेको थियो । 

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 
मंगलबार, २७ साउन २०८२, १४ : १६

प्रतिक्रिया