काठमाडौं- आयोजना प्रभावित स्थानीयले झापा इनर्जीको आईपीओमा आवेदन दिने आज साउन २८ गते अन्तिम दिन रहेको छ।
कम्पनीले साउन १४ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीलाई भने गत साउन १८ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो।
कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर स्थानीयका लागि बिक्री खुला गरेको छ। स्थानीयका लागि छुट्याइएको कुल शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटरवरपरको क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ भने बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर शिवसताक्षी नगरपालिका वडा नं ४ का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ।
यस आईपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता साधारण सेयर वैदेशिक रोजागरमा रहेका नेपालीका लागि निष्कासन गरिएको थियो।
झापा इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।
प्रतिक्रिया