काठमाडौं- सिटी होटल लिमिटेडले यही भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ। कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको प्रतिसेयर सय रुपैयाँ मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
यही साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया