जनकपुर– ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्।
मन्त्री खड्काले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाई विभागका महानिर्देशक मित्र बराल सहितको टोलीलाई प्रदेशभरिका विद्युत र सिँचाई सेवामा जनताको आवश्यकता र चाहनाअनुसार सुधार गर्न निर्देशन दिएका छन्।
मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत चुहावट अन्य प्रदेशहरूको तुलनामा उच्च रहेको र यस समस्यालाई तत्काल रोक्नका लागि आवश्यक कदम उठाउन निर्देशन दिएका हुन्। उनले नागरिकहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित विद्युत आपूर्ति गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न निर्देशन दिनु भएको हो।
मन्त्री खड्काले मधेशका विभिन्न क्षेत्रमा पटक पटक विजुली जाने जनगुनासोको समाधान गर्न २४ घण्टा विद्युत आपूर्ति सुनिश्चित गर्ने उद्देश्यअनुरूप काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।
उनले मन्त्रालयका लागि कार्यप्रणालीमा सुधार गर्ने र राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन तथा दायित्व पूरा नगर्ने कर्मचारीलाई दण्डित गर्ने नीति रहेको जानकारी गराउँदै आफ्नो जिम्मेवारी र दायित्वलाई प्राथमिकताकासाथ पूरा गर्न निर्देशन दिए।
‘विद्युत र सिँचाई क्षेत्रमा सुधार आवश्यक छ। यो कामलाई प्रोत्साहित गर्दै, जनताको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौं।’, उनले भने ।
प्रतिक्रिया