काठमाडौं- बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख ७ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।
त्यस्तै, कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि र ६२ हजार २५० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओमा छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भदौ ३० गतेसम्म आवेदन दिन सकिने छ।
आइपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफेटवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया