जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने

विहीबार, १९ भदौ २०८२, १० : २०

काठमाडौं- जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले गत साउन १५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । यस हकप्रदमा भदौ ४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था रहेको भएपनि मागबमोजिम आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँ बराबरको १०ः६.५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको थियो ।  

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको हो।

कम्पनीका सेयरधनीहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

हकप्रद सेयर जारी गर्न कम्पनीले गत असार ८ गते १ दिनका लागि बुक क्लोज गरेको थियो। असार ६ गते शुक्रबार र ७ गते शनिबार परेकोले त्यसको अघिल्लो दिन अर्थात् असार ५ गतेसम्म कायम भएका सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्।

जोशी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

 
विहीबार, १९ भदौ २०८२, १० : २०

प्रतिक्रिया