काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूले विभिन्न प्रकारका सूचना तथा जानकारीहरू तोकिएको समयभित्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने बताएको छ। वित्तीय पारदर्शिता र लगानीकर्ताको हित सुनिश्चित गर्न यस्तो गर्नुपरेको नेप्सेको भनाइ छ।
नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा जानकारीहरू नेप्सेमा उपलब्ध गराउन अनुरोध गरेको हो। यसका लागि नेप्सेले उपलब्ध गराएको एनओटीएस लगईन (अनलाइन माध्यम) मार्फत सूचीकृत कम्पनीहरूले आफ्नो लेखापरीक्षण भएको वित्तीय विवरण, त्रैमासिक प्रतिवेदन र प्रति शेयर आम्दानी ,मूल्य आय अनुपात जस्ता जानकारीहरू बुझाउनुपर्ने बताएको छ।
आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण भएको वित्तीय विवरण बुझाउनुपर्ने प्रावधान छ भने त्रैमासिक प्रतिवेदन त्रैमास समाप्त भएको तीस दिनभित्र पेस गर्नुपर्छ।
कम्पनीको सेयर मूल्यमा प्रभाव पार्न सक्ने कुनै पनि मूल्य जानकारी जस्तैः नयाँ परियोजना, सम्झौता वा कानुनी कारबाही जस्ता कुरा भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नै सार्वजनिक गर्नुपर्ने नेप्सेले जनाएको छ।
कम्पनीको वेबसाइटमार्फत समेत यो जानकारी सार्वजनिक गर्नुपनर्ने, लाभांश, बोनस सेयर, हकप्रद सेयर वा थप सेयर निष्कासनसम्बन्धी निर्णय भएमा पनि सो निर्णय हुने बित्तिकै सञ्चालक समितिको बैठक बसेको समयसहितको जानकारी उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।
यसका साथै धितोपत्रको दाखिला खारेज बन्द हुने मितिभन्दा कम्तीमा सात दिनअगाडि सोसम्बन्धी सूचना प्रकाशित गर्नुपर्नेछ ।
साधारण सभाको वार्षिक प्रतिवेदन, वासलात र अन्य जानकारी सभा हुनुभन्दा कम्तीमा २१ दिनअगाडि उपलब्ध गराउनुपर्छ भने साधारण सभामा भएका निर्णयहरूको विवरण सभा समाप्त भएको एक महिनाभित्र उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौतामा उल्लिखित शर्त बमोजिम यो सूचना सार्वजनिक गरेको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया