काठमाडौं– जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ ।
उनीहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् ।विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ । यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।
जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । उनीहरूले आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन् ।माइतीघर मण्डलामा आयोजित जेनजीको प्रदर्शन स्थलमा एसपी र आधा दर्जन डीएसपीहरूले सुरक्षा कमाण्ड गर्ने भएका छन् । माइतीघर र बानेश्वर क्षेत्रको कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गर्ने भएका हुन् ।
सो क्षेत्रमा प्रहरीका ६ जना डीएसपीहरू पनि खटिनेछन् । प्रदर्शन स्थलमा सशस्त्र प्रहरीको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्वमा गर्नेछन् ।
काठमाडौँका अपरेशन कमाण्डर सुन्दर तिवारी, प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडा, नगर प्रहरीका डीएसपी मञ्जिल मुकारुङ र सिंहदरबार वृत्तका डीएसपी जनार्दन घिमिरे सहित ६ जना परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको छ ।
प्रतिक्रिया