अपडेट : जेनजीको आन्दोलन

काठमाडौंमा १७ र इटहरीमा २ सहित १९ जनाको मृत्यु, देशभर ३ सय ४७ घाइते उपचाररत

सोमबार, २३ भदौ २०८२, १९ : ०३

काठमाडौं- जेनजीको आन्दोलनमा प्रहरीको गोली लागेर देशभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार मृतकको संख्या १९ पुगेको हो ।

काठमाडौं उपत्यकामा प्रहरीको गोली लागेर १७ जना र सुनसरीको इटहरीमा गोली लागेर घाइते भएका २ जनाको मृत्यु भएको हो ।

इटहरीमा इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवा विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए । उनीहरूमध्ये २ जनाको मृत्यु भएको हो ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रको प्रदर्शनमा गोली लागेपछि विभिन्न अस्पतालमा उपचारको क्रममा १७ जनाको मृत्यु भएको हो । प्रदर्शनको सुरक्षामा खटिएका नेपाल प्रहरीका १० जना र सशस्त्रका ९ जना घाइते भएका छन् । 

७ जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।

सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जनाको मृत्यु भएको छ ।

यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत रहेका छन् ।

सोमबार, २३ भदौ २०८२, १९ : ०३

प्रतिक्रिया