काठमाडौं– जेनजीको आन्दोलनमा दमन गरेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरुले एक पछि अर्को गर्दै राजीनामा दिन थालेका छन् ।
सरकारको ज्यादती र नृशंस दमनको चौतर्फी विरोध भइरहेको बेलामा ओली सरकारमा रहेका मन्त्रीहरुले पनि सरकारको दमनको जिम्मा नलिने बताउँदै राजीनामा दिन थालेका हुन् ।
सोमबारको घटनाको नैतिक जिम्मेवारी लिँदै बेलुका गृहमन्त्रीले राजीनामा दिइसकेका छन् भने अर्का कृषि मन्त्री पनि राजीनामा बुझाएका छन् ।
देशभर १९ जनाको ज्यान जानेगरी भएको घटनाको नैतिक जिम्मेवारी लिएर गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका हुन् । अर्का कृषि मन्त्री रामनाथ अधिकारीले युवाको आन्दोलनमा बल प्रयोग गरी सरकार तानाशाहतर्फ उन्मुख भएकाले नैतिक रुपले बस्न नसकिने जनाउँदै राजीनामा दिएका छन् ।
कृषि मन्त्री अधिकारीले राजीनामा पत्रमा लेखेका छन्,‘मलाई मेरो पदीय जिम्मेवारीमा टाँसी रहन अपराधबोध भएकोले सम्पूर्ण देश र जनता समक्ष म समेत भएको सरकारले गरेको दमन प्रति क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति घोर आपत्ती जनाउँदै तत्कालै लागु हुने गरी यहाँ समक्ष राजिनामा पेश गरेको छु ।’
अर्का युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पनि राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ । आन्तरिक छलफलमा रहेका मन्त्री चौधरीले आजै राजीनामा बुझाउने तयारी गरेका हुन् ।
यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने तयारी गरेका छन् । उनले यस्तो अवस्थामा सरकारमा बसिरहन जरुरी नभएको भन्दै राजीनामाको तयारी गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।
सोमबार जेनजी पुस्ताको आन्दोलनमा सरकारको निर्मम दमन पछि देशभर १९ जनाले ज्यान गुमाएका छन् भने पाँचसय भन्दा बढी घाइते अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया