काठमाडौं- हिमालय एयरलाइन्सले दुबई उडानबारे पछिल्ला दिनमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् फैलाइएको समाचार पूर्णतः असत्य र भ्रामक भएको स्पष्ट पारेको छ।
एयरलाइन्सले मंगलबार जारी गरेको विज्ञप्तिमा दुबई उडान तोकिएको तालिकाअनुसार नियमित रूपमा हुने जनाइएको छ। कम्पनीले विभिन्न अनलाइन पोर्टलहरूले स्रोतको हवाला दिँदै प्रधानमन्त्री स्वास्थ्य उपचारको बहानामा दुबई जाने तयारी भएको दाबी गर्दै समाचार प्रकाशन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस्ता अपुष्ट र कपोकल्पित जानकारीमा विश्वास नगर्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं। राज्यलाई परिआएको खण्डमा सहयोग गर्नुपर्ने राष्ट्रिय दायित्वबाट कम्पनी कहिल्यै विमुख हुँदैन।”
हिमालय एयरलाइन्सले विगतमा कोभिड–१९ को समयमा उद्धार उडानमार्फत आफ्नो दायित्व पूरा गरिसकेको पनि स्मरण गराएको छ। कम्पनीले यात्रुको सेवामा सधैं जिम्मेवार र विश्वासिलो भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया