काठमाडौं–नेपाली समाजलाई थप सुरक्षित बनाउनका लागि ‘कताहो’ मोबाइल एपमार्फत सामुदायिक सुरक्षा सेवा सुरु गरेको छ । ‘कता हो’ मोबाइल एपमार्फत परिवार सुरक्षा सुविधा र सामुदायिक सुरक्षा सुविधा प्रदान गरिने भएको हो । परिवार सुरक्षा सुविधा सेवाले कुनै व्यक्तिलाई समस्या परेमा परिवारभित्रका दुई सदस्यलाई तुरुन्तै सूचना पठाइ जानकारी गराउँछ ।
यो सेवा लिनका लागि ‘कताहो’ प्रयोगकर्ताले नक्साको दायाँतर्फको माथिल्लो भागमा रहेको रातो इमर्जेन्सी बटन थिची परिवारका २ जनाको नम्बर राख्न सक्नेछन् । यो सेवामार्फत जानकारी प्राप्त गर्नका लागि उक्त २ वटा नम्बर रहेका मोबाइलमा ‘कताहो’ एप रजिष्ट्रर भएको हुनुपर्नेछ । सामुदायिक सुरक्षा सुविधा सेवाले नेपालभर कुनै पनि ठाउँमा बसोबास गर्ने २०–३० सदस्यहरू मिलेर प्रयोग गर्न सकिने यो प्रणाली आफन्त, टोल, समाज, कार्यालय वा साथीहरूको समूहमा सञ्चालन गर्न सकिन्छ ।
यो कार्यका लागि आधिकारिक फाराम भरेर टिम लिडर वा संयोजक नियुक्त गर्नुपर्ने हुन्छ । टिम लिडरले आफ्ना सदस्यहरूलाई दर्ता गरेपछि, कुनै सदस्यलाई समस्या परेमा साइरन बजाएर समूहका सबै सदस्यलाई तुरुन्तै सूचना पुर्याउन सकिने छ । यस प्रणाली प्रयोग गरी मोबाइल वा टेलिफोनमार्फत सुरक्षा कोड थिच्दा साइरन बज्ने मात्र नभई सदस्यहरूको मोबाइलमा एकैपटक आकस्मिक सूचना पुग्ने सुविधा रहेको छ ।
‘कताहो’ सामुदायिक साइरन सेवा एण्ड्रोइड र आइफोन दुवैमा जडान गर्न सकिने छ । वि.सं. २०८२ साल असोज मसान्तसम्म, अधिकतम ३० सदस्यीय सामुदायिक समूहहरूका लागि निःशुल्क उपलब्ध रहेको छ । नेपालभर जुनसुकै स्थानमा समस्या परे पनि एपमार्फत ठेगानासहित जानकारी पठाउन सकिने सुविधा उपलब्ध छ ।
प्रतिक्रिया