काठमाडौं- जापानी सरकारका अनुसार देशमा १०० वर्ष वा सोभन्दा बढी उमेरका मानिसको संख्या १ लाख नजिक पुगेको छ।
जापानको स्वास्थ्य मन्त्रालयले शुक्रबार भनेको छ, ‘लगातार ५५ औँ वर्षमा नयाँ रेकर्ड कायम गर्दै सेप्टेम्बरसम्ममा जापानमा शताब्दी उमेरकाहरुको संख्या ९९ हजार ७६३ पुगेको छ। यो कुल संख्यामध्ये ८८ प्रतिशत महिला छन्।’
जापानमा विश्वमा सबैभन्दा लामो आयु छ। जापान विश्वकै सबैभन्दा वृद्ध जीवित व्यक्तिहरुको घर मानिन्छ। विश्वभर १०० वर्ष बाँच्ने मानिसको वास्तविक संख्यामा फरक–फरक दाबी गरिएको छ। धेरै अनुसन्धानले यो संख्यामा प्रश्न उठाएका छन्। केही प्रश्नको बाबजुद लामो समय बाँच्ने सन्दर्भमा जापानको संख्या शीर्ष स्थानमा आउँछ।
जापानको सबैभन्दा वृद्ध व्यक्ति ११४ वर्षीया शिगेको कागावा हुन्। उनी शिकागोको नारा सहरको यामातोकोरियामाकी बासिन्दा हुन्। सबैभन्दा वृद्ध पुरुष तटीय सहर इवाताका १११ वर्षीया कियोताका मिजुनो हुन्। जापानका स्वास्थ्यमन्त्री ताकामारो फुकुओकाले १०० वर्ष पुगेकोमा ८७ हजार ७८४ महिला र ११ हजार ९७९ पुरुषलाई बधाइ दिएका छन्।
जापानमा वृद्धवृद्धाको यो तथ्यांक सेप्टेम्बर १५ मा जापानको ज्येष्ठ नागरिक दिवसअघि जारी गरिएको हो। सेप्टेम्बर १५ जापानमा राष्ट्रिय बिदा हो। यस दिन नयाँ शताब्दी (१०० वर्ष पूरा गरेका व्यक्ति) लाई प्रधानमन्त्रीबाट बधाइपत्र र चाँदीको कप दिइन्छ। यस वर्ष ५२ हजार ३१० व्यक्ति यसका लागि योग्य भएका छन्।
सन् १९६० को दशकमा जापानको जनसंख्यामा १०० वर्षभन्दा माथिका व्यक्तिको अनुपात अन्य जी७ देशहरुको तुलनामा सबैभन्दा कम थियो। त्यसपछिका दशकहरुमा स्थिति द्रुत गतिमा परिवर्तन भयो। सन् १९६३ मा जापानी सरकारले शताब्दी सर्वेक्षण सुरु गर्दा १०० वर्ष वा सोभन्दा माथिका १५३ जना थिए। यो संख्या सन् १९८१ मा १ हजार र सन् १९९८ मा १० हजार पुगेको थियो।
जापानको उच्च आयुको मुख्य कारण मुटु रोग र सामान्य प्रकारका क्यान्सर, विशेषगरी स्तन र प्रोस्टेट क्यान्सरबाट हुने कम मृत्यु हो। जापानमा मोटोपनको दर कम छ। जुन दुवै रोगको प्रमुख कारण हो। महिलामा मोटोपनको दर विशेषगरी कम छ। यसले जापानी महिलाको आयु पुरुषहरूको तुलनामा उच्च बनाउँछ।
बीबीसीको रिपोर्टअनुसार विगत दशकहरुमा विश्वका बाँकी भागहरुमा चिनी र नुनको मात्रा बढेको छ। साथै, जापानले सार्वजनिक स्वास्थ्य सन्देशहरुमार्फत मानिसहरुलाई नुनको सेवन कम गर्न सफलतापूर्वक मनाएको छ। त्यहाँका मानिसहरु अमेरिका र युरोपका वृद्धवृद्धाभन्दा बढी हिँड्छन् र सार्वजनिक यातायात प्रयोग गर्छन्।
दैनिक सामूहिक व्यायाम र रेडियो ताइसो सन् १९२८ देखि जापानी संस्कृतिको अभिन्न अंग भएको छ। यो सामुदायिक भावना साथै जनस्वास्थ्यलाई प्रवर्द्धन गर्न स्थापना गरिएको थियो।
प्रतिक्रिया