फेरि प्रधानमन्त्री नबन्नुस् भनेर मैले सभापतिलाई सहमत गराउन सकिनँ : विश्वप्रकाश शर्मा

शनिबार, २८ भदौ २०८२, १२ : ५४

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले प्रतिकूल राजनीतिक परिस्थितिका बिच नयाँ प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको भन्दै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यद्यपि, उनले यो प्रक्रियाले केही गम्भीर संवैधानिक प्रश्नहरू खडा गरेको बताएका हुन्।

भिडियो सन्देशमार्फत आफ्नो धारणा राख्दै शर्माले ‘डक्ट्रिन अफ नेसेसिटी’ (आवश्यकताको सिद्धान्त) लाई संविधानको प्रक्रियाभित्र ल्याउन सकिने विकल्पमा पार्टीले राष्ट्रपति र सभामुखसमक्ष आग्रह गरेको खुलासा गरे। उनले संसद्मा नरहेको सदस्यलाई पनि निश्चित समय र दायित्व तोकेर राष्ट्रपतिले मनोनयन गर्न सक्ने प्रावधानको व्यवस्थापन गर्न सकिने धारणा राखेका थिए। तर, सो बाटोमा नगई प्रधानमन्त्री नियुक्त भएकोमा उनले केही असन्तुष्टि व्यक्त गरे।

महामन्त्री शर्माले हालैको ‘जेनजी’ आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटप्रति कडा निन्दा गरेका छन्। विशेषगरी, नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सर्वोच्च अदालत, संसद् भवन र अन्य व्यावसायिक प्रतिष्ठानहरूमा भएको क्षतिप्रति उनले दुःख व्यक्त गरे।

उनले भने, ‘जेनजी पुस्ताले चाहेको थिएन कि देशको सर्वोच्च अदालत ध्वस्त होस्, न त संसद नै।’ उनले आन्दोलनमा घुसपैठ गर्ने र अवाञ्छित गतिविधिमा संलग्न सबैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन नयाँ सरकारसँग जोडदार माग गरे।

आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शर्माले समयमै हस्तक्षेप गर्न नसकेकोमा पार्टी आत्मालोचित रहेको बताए। उनले मृतकका परिवारलाई न्याय दिलाउन उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिए।

उनले भ्रष्टाचार नियन्त्रणका लागि पनि नयाँ सरकारसँग माग राखेका छन्। उनले भने, ‘सरकारले उच्चस्तरीय आयोग बनाएर २०४६ सालपछिका सबै नेता तथा जिम्मेवार व्यक्तिहरूको सम्पत्ति छानबिन गरी अनधिकृत सम्पत्ति राष्ट्रको ढुकुटीमा ल्याउनुपर्छ।’

पार्टीभित्रको आन्तरिक जीवन र विगतका अनुभवबारे बोल्दै शर्माले पार्टीको ‘राजनीतिमा परिवर्तन’ को आवश्यकता औंल्याए। उनले सभापति शेरबहादुर देउवालाई छैटौं पटक प्रधानमन्त्री बन्न नहुने भनी आफूले आग्रह गरेको र तीन ठूला दलका शीर्ष नेताहरूले संन्यास लिएर अभिभावक बन्नुपर्ने सुझाव दिएको कुरा पनि दोहोऱ्याए।

विगतमा कांग्रेसले गरेका राम्रा कामहरूको स्मरण गर्दै शर्माले प्रजातन्त्रको स्थापनादेखि शान्ति प्रक्रियासम्म पार्टीले खेलेको भूमिकाको बचाउ गरे। उनले पार्टीले केही गल्ती गरेको हुनसक्ने स्वीकार गर्दै, अब पश्चात्तापमा समय खेर फाल्नुभन्दा नयाँ परिस्थितिअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए।

शनिबार, २८ भदौ २०८२, १२ : ५४

प्रतिक्रिया