काठमाडौं- एसवाई प्यानल नेपालले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्कासन कार्य स्थगित गरेको छ।
कम्पनीले आज भदौ २९ गतेबाट पहिलो चरणको आईपीओ बिक्री खुला गर्ने जनाएको थियो । तर आज आइतबार कम्पनीले एक सूचना जारी गर्दै हाल देशको विषम परिस्थितिलाई ध्यानमा राखेर अर्को सूचना प्रकाशित नभएसम्मका लागि आईपीओ निष्कासन कार्य स्थगित भएको जानकारी गराएको छ।
नेपाल धितोपत्र बोर्डले एसवाई प्यानल नेपाललाई जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ ल्याउन अनुमति दिएको छ। अब कम्पनीले अर्को सूचना प्रकाशित गरी जारी पुँजीको २ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल २ लाख ६१ हजार ६२७ कित्ता शेयर उद्योग प्रभावितका बासिन्दा (चितवनको रत्ननगर नगरपालिका सबै वडा) का लागि बिक्री खुला गर्नेछ।
यसैगरी कम्पनीले सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई जारी गर्नेछ।
एसवाई प्यानल नेपालको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
प्रतिक्रिया