काठमाडौं- सागर डिष्टिलरी लिमिटेडले आज भदौ ३० गते सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले गत भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भनिएको थियो। तर, मुलुकमा देखिएको विषम परिस्थितलाई ध्यानमा राखेर कम्पनीले आईपीओ निष्कासन प्रक्रिया स्थगन गरेको थियो। अब यो आईपीओमा आजबाट आवेदन दिन सकिनेछ।
कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने ४३ हजार ५६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ। कम्पनीले सर्वसाधारणका लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गरेको छ।
यो आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डका अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा असोज २ गते र ढिलोमा असोज १३ गते बैंकिङ समयपछि हुनेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
प्रतिक्रिया