काठमाडौं- अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेड) की गभर्नर लिसा कुकलाई पदबाट हटाउन राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अदालतले झट्का दिएको छ । हालै मात्र ट्रम्पले धोकाधडीको आरोप लगाउँदै कुकलाई बर्खास्त गरेका थिए ।
तर एउटा पुनरावेदन अदालतले ट्रम्पको सो आदेशमा रोक लगाएको छ । फेडको ब्याजदर सम्बन्धी महत्त्वपूर्ण बैठक हुनुभन्दा पहिले कुकलाई पुनस्र्थापित गर्ने अदालतको निर्णय ट्रम्पका लागि समस्याकारी हुने देखिएको छ । कुकलाई पदबाट हटाउन ट्रम्प प्रशासनले अब सर्वोच्च अदालतको ढोका ढकढकाउनु पर्नेछ ।
अमेरिकामा फेडरल रिजर्भ स्वतन्त्र निकाय हो, यसमा कुनै सरकारी हस्तक्षेप हुँदैन । फेडको ११२ वर्ष पुरानो इतिहासमा, कुनै पनि राष्ट्रपतिले अहिलेसम्म फेड गभर्नरलाई पदबाट हटाएका थिएनन् । धितो ठगीको आरोप लगाउँदै ट्रम्पले कुकलाई बर्खास्त गरेका थिए ।
कुकमाथि यी आरोप फेडरल हाउसिङ फाइनान्स एजेन्सीका निर्देशक बिल पल्टेले लगाएका थिए । पल्टेलाई ट्रम्पका कट्टर समर्थक र फेडका वर्तमान अध्यक्ष जेरोम पावेलको कटु आलोचक मानिन्छ ।
२०२१ को जुनमा कुकले मिशिगनमा एउटा सम्पत्ति किनिन् । १५ वर्षे धितो सम्झौतामा किनिएको यो सम्पत्तिलाई उनले आफ्नो प्रमुख निवास बताएको पुल्टेको आरोप छ । यसको एक महिना पछि कुकले फेरि जर्जियाको एटलान्टामा अर्को सम्पत्ति किनिन् । ३० वर्षे धितो सम्झौतामा किनिएको यो सम्पत्तिलाई पनि उनले आफ्नो मूल घर नै बताइन् ।
अमेरिकामा मूल घरका लागि लिने ऋणमा ब्याजदर कम हुन्छ । यस्तो दाबीको फाइदा उठाउनुलाई धितो ठगी भनिन्छ । ‘आफूले तिर्नु पर्ने ब्याज बचाउन झूट बोल्ने महिलाले ब्याजदर नियन्त्रण गर्ने जिम्मेवारी कसरी लिन सक्छिन् ?’ भनेर पुल्टेले कुकमाथि प्रश्न उठाएका थिए ।
ट्रम्पले यही मुद्दालाई समातेर पहिला कुकलाई राजीनामा दिन भने । त्यसपछि अगस्ट २२ मा कुकले राजीनामा नदिए उनलाई बर्खास्त गर्ने घोषणा गरे । अगस्ट २६ मा ट्रम्पले कुकलाई फेडरल रिजर्भ गभर्नरको पदबाट हटाए । लिसा कुक फेडरल रिजर्भ बोर्डकी पहिलो अश्वेत महिला गभर्नर हुन् । उनको हालको नियुक्ति २०३८ सम्म छ ।
प्रतिक्रिया